जीवित छ नेवारी संस्कृति (भिडियाे)

शुक्रबार, असोज १२, २०८०

ललितपुर । तपाई बिहान सुनाकोठी मूल सडक भएर आउजाउ गर्नु हुन्छ भने त्यहाँका फल्चाहरूमा भजन गाइरहेको दृश्य अवश्य देख्नु नै भएको छ होला । नेवार समुदायका ज्येष्ठ सदस्यहरू बिहानी समय भजन गाएर भगवानलाई सम्झना गर्दछन् ।
काठमाडौं उपत्यकामा वसोबास गर्ने नेवार समुदायको मौलिक संस्कृतिका भजनलाई लिने गरिन्छ । काठमाडौं उपत्यकाका मुख्य बासिन्दा नेवार समुदायका ज्येष्ठ सदस्य आफ्नो संस्कृति बचाउन क्रियाशील छन् ।
भजन गाउने प्रचलन नेवार समुदायले मनाउने गुँला पर्वका सन्दर्भमा अझ बढी नै देखिएको थियो । गुँला पर्वका सन्र्दभमा फल्चाहरूमा भजन गाइरहेको दृश्य प्रशस्तै देख्न पाइन्थ्यो । गुँला पर्वको सन्र्दभमा सुनाकोठीका फल्चाहरूमा एक महिनासम्म बिहानी भजनको कार्यक्रम भएकोे वडाअध्यक्ष कृष्णहरि महर्जनले जानकारी दिनुभयो ।
गुँला पर्व साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने पर्व हो । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौं महिना भन्ने बुझिन्छ ।
काठमाडौंका नेवारहरू राजधानीका आदिवासी मात्र होइनन्, कला, साहित्य, गीतसंगीत, खानपान, जात्रा लगायतका अनेकौं पक्षको नेतृत्व सम्हाल्ने साधक पनि हुन् । त्यसैले त काठमाडौंमा नेवाः संस्कृतिको छुट्टै महत्व र पहिचान छ ।
विहानी भजन संस्कृतिबारे वडा सदस्य निरोज महर्जनले पनि संस्कृतिलाई जीवन्त राख्न जेष्ठ सदस्य क्रियाशील हुनु भएको बताउनु भयो ।
नेवारहरू सिर्जनात्मकतामा विश्वास गर्छन् । अहिले पनि नेवारी समुदायका धेरै मान्छेहरू मूर्तिकला, परम्परागत संगीतकला, चित्रकला, खाद्यकला लगायतका सिर्जनात्मक कर्ममा तल्लीन भएको देखिन्छ ।
नेपालको धार्मिक, सांस्कृतिक परिचयको मेरुदण्डका रूपमा नेवार जाति र नेवारी संस्कृतिलाई लिन सकिन्छ ।
विश्व परिवेशमा नेवारी संस्कृति र नेवारहरूको धार्मिक गतिविधि संसारका लागि एउटा उत्तम नमूना र मानवीय सहिष्णुताको आधार पनि हो ।

 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार