इन्द्रजात्रामा ललितपुर महानगर २३ नं वडा कार्यालयले आयोजना गर्‍यो विशेष कार्यक्रम (भिडियाे)

लाखेनाच, नेवारी नाचसहित वडावासीलाई समयवजी वितरण
शुक्रबार, असोज १२, २०८०

ललितपुर । ललितपुर महानगरपालिका २३ नं. वडा कार्यालय धापाखेलले इन्द्र जात्राको अवसरमा वडा कार्यालय नजिकैको देवीस्थल मन्दिरमा समयवजी वितरण, लाखे नाच तथा नेवारी नाच कार्यक्रम आयोजना गरेको छ ।  ललितपुर महानगर पालिका वडा नं. २३ का वडाअध्यक्ष जीवन महर्जनको अगुवाईमा वडा कार्यालयले इन्द्रजात्राको विशेष कार्यक्रम आयोजना गरेकाे हो ।
यस पटकको इन्द्रजात्रा विशेष रुपमा मनाउनका लागि वडा कार्यालयले पहिलो पटक समयवजी वितरण, लाखेनाचसहित नेवारी नाच कार्यक्रम आयोजना गरेको वडाअध्यक्ष जीवन महर्जनले शब्दपाटीलाई जानकारी दिनुभयो ।

samebaji 11695974185.jpg
श्री पद्म प्रकाश माविअगाडि रहेको मन्दिरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । वडा कार्यालयले समयवजी निर्माणका लागि आवश्यक सामग्रीको प्रबन्ध गरेको थियो । देवी स्थल मन्दिरको प्राङगणमा मञ्च बनाएर समयवजी बनाइएको थियो । मन्दिर अगाडि बनाइएको विशेष प्रकारको समयवजी अवलोकन तथा फोटो खिच्न ठूलो संख्यामा वडावासी भेला भएका थिए । चिउरा, कालो भट्मास, अदुवा, लसुन, बोडी, तोरीको साग, आलु, छोयला, बारा, माछा र अण्डा आदिको परिकारबाट बनाइने खाद्य सामग्री हो समयबजि । इन्द्रजात्रा भाद्र शुक्ल द्वादशीदेखि आश्विन कृष्ण चतुर्थी आठ दिनसम्म काठमाडौँमा मनाइने नेवाः समुदायको विशेष पहिचान बोकेको पर्व हो । इन्द्रजात्रामा नेवार समुदायले आआफ्ना घरमा समयबजि खाने र टोलछिमेकमा पनि समयबजि बाँड्ने चलन छ ।

same 21695974160.jpg
इन्द्र जात्रा विशेष कार्यक्रममा वडा भित्र रहेको श्री दाफा बांसुरी खलः धापाखेल, झोचे धिमे भजन खल: श्रीराम भजन खल : पुन्सी मंका खल: ले नेवारी नाच तथा लाखे प्रदर्शन गरेको वडा अध्यक्ष जीवन महर्जनले जानकारी दिनुभयो ।
इन्द्र जात्रा पर्वमा विशेषगरी गणेश र इन्द्र देवताको पूजा गरेर भजन कृतन गरिन्छ । भैरव र कुमारीको पनि पूजा गरिन्छ । भजन कृतन सकेपछि भक्तजन र टोलका सबै मिलेर समयबजि बाँडेर खाने परम्परा छ ।
इन्द्र जात्रामा नेवाः समुदायको बस्तीमा विशेष गरेर गणेशको मन्दिर अगाडि कलात्मक रूपले समेबजि, मिठाई र फलफूल सजाएर प्रदर्शन गरिन्छ । टोलटोलमा गएर “ला छकू वयेक समेबजि, वल वल पुलुकिसि” अर्थात (मासु एकटुक्रा आउने गरी समयबजि, आयो आयो ऐरावत हात्ती) भनेर लय मिलाएर देउसी र भैलोजस्तै समयबजि माग्न जाने चलन छ ।

lakhe nacha1695973899.jpg
इन्द्र जात्राका दिन समयबजि दान दिनु भनेको पञ्चतत्व दान दिनुसरह मानिन्छ । त्यसैले इन्द्रजात्राको दिन पञ्चतत्वले निर्माण भएको शरीरमा पञ्चतत्व सन्तुलित गरेर राख्ने उद्देश्यले समयबजि खाने र अरूलाई पनि बाँड्ने गरिन्छ ।
यो जात्रा काठमाडौँ उपत्यकाका विभिन्न सहर, पाटन, भक्तपुर, थिमि, टोखा, हरिसिद्धिको साथै उपत्यका बाहिर सिक्किम र अमेरिकामा पनि धूमधामसँग मनाउने गरिएको छ । इन्द्र जात्राका दिन विशेष गरेर स्वर्गका राजा देवराज इन्द्रलाई सहकालको देवताको रूपमा पूजा गरिन्छ ।
इन्द्र जाता विशेष कार्यक्रम अवधिभर धापाखेल–सातदोबाटोको मूल सडकको केही भाग बन्द गरिएको थियो । उक्त खण्ड भएर आवतजावत गर्ने सवारी साधानहरूलाई धापा हाईट उकालेदेखि श्रीकृष्ण मन्दिर निस्कने तथा छिर्न पाउने गरी वैकल्पिक मार्गको व्यवस्था गरिएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार