दर्शकले भरियो वसन्तपुर, राष्ट्रपतिसहित उच्चअधिकारी जात्रा अवलोकन गर्दै

बिहीबार, असोज ११, २०८०

काठमाडौं । वशन्तपुर आज इन्द्रजात्रा हेर्ने दर्शकले भरिएको छ । यहाँ मानिसहरूको खचाखच उपस्थिती छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा मनाइँदैछ ।

जात्रा हेर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,  गरिबी निवारण तथा सहकारीमन्त्री रन्जिता श्रेष्ठ, पर्यटनमन्त्री सुदन किराती, काठमाडौं महानगरपालिकाका मेयर बालेन साह लगायत उच्च अधिकारी हनुमानढोका पुगिसकेका छन् ।

इन्द्रजात्रा अवलोकन गर्न विदेशी पर्यटकहरु पनि वशन्तपुर पुगेका छन् । केही बेरमा कुमारीको रथारोहन हुनेछ । हनुमानढोकास्थित गद्दी बैठकबाट राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी लगायतको रथको अवलोकन गर्ने कार्यक्रम रहेको छ । 

सोही अवसरमा यहाँ हजारौं सर्वसाधारण पनि जात्रा अवलोकन गर्न पुगका छन् । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा पनि मनाइँदै आएको छ । विशेषगरी वशन्तपुरमा देखाइने जात्रा विश्वभर चर्चित रहीआएको छ । 

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । 

जात्राभर भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने चलन छ । 
०००
 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार