कोरोनाका कारण निधन भएका एमाले नेता चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि

बुधबार, वैशाख २९, २०७८

काठमाडौं । नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेता चौलागार्इंलाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादुर थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, एमाले वाग्मती प्रदेश सङ्गठनका अध्यक्ष आनन्दप्रसाद पोखरेल, पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ, वाग्मती प्रदेशसभाका सदस्य रचना खड्कालगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।   त्यसअघि आज बिहानै नेता चौलागार्इंको पार्थिव शरीरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।  पार्टीका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका  थिए । कोरोना भाइरसको सङ्क्रमणबाट नेता चौलागार्इंको मङ्गलबार निधन भएको थियो । नेकपा (एमाले) पोलिटब्यूरो सदस्य रहनुभएका चौलागाईं दोलखा (ख) बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नेता चौलागार्इं २०५६ सालको निर्वाचनमा दोलखा–१ बाट निर्वाचित भएका हुन् । त्यस्तै, २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक कोटाबाट सांसद भएको थिए ।  विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहनुभएका चौलागार्इं एक निष्ठावान्, इमान्दार नेता हुन् । उनको निधनले दोलखाका साथै सिङ्गो राष्ट्रले अपूरणीय क्षति व्यहोर्नु परेको एमाले वाग्मती प्रदेश सङ्गठनका अध्यक्ष पोखरेलले बताए ।

पार्टीले निष्ठावान् नेता गुमायो : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्मती प्रदेशसभाका सदस्य तथा नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनप्रति दुःख व्यक्त गरेका छन् ।  उनले आज विज्ञप्ति जारी गर्दै यो दुःखद घडीमा चौलागाईंप्रति श्रद्धासुमन अर्पण गर्दै निधनबाट शोकमा परेका आफन्त, परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेका छन् ।  एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले चौलागाईंको निधनबाट पार्टीले एक असल र निष्ठावान् नेता तथा दोलखाका जनताले इमान्दार जनप्रतिनिधि गुमाएको बताएका छन् । 
उनले भद्र, शालीन, मिलनसार छवि बनाउनुभएका चौलागाईंले जनताप्रति समर्पित जनप्रतिनिधिको भूमिका निर्वाह गर्नुभएको उल्लेख गरेका छन् ।  ‘एमालेको नेतृत्वमा भएको मुलुकको लोकतान्त्रिक, प्रगतिशील आन्दोलन र समृद्ध मुलुक निर्माणको अभियानमा उनले पु¥याएको योगदानलाई पार्टीले सधैँ स्मरण गर्नेछ’, विज्ञप्तिमा उनले भनेका छन् ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १६:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार