ललितपुर महानगरले सुरु गर्‍यो नख्खुखोलामा पुल निर्माण (भिडियो) 

दुरी घटाउने सम्बन्ध बढाउने पुलको नगर प्रमख चिरीबाबु महर्जनद्धारा शिलान्यास
बुधबार, असोज १०, २०८०

ललितपुर । ललितपुर महानगरले महानगरको वडा नंं.१४ स्थित नख्खुखोलामा पुल बनाउने भएको छ । उक्त पुलको महानगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरे । यो पुलले वडा नंं १४ र वडा नं.२५लाई जोड्नेछ । पुल निर्माणको अवधि १८ महिना रहेको छ । ४ करोडमा निर्माण हुने यो मोटरेबल पुल निर्माण सम्पन्न भएपछि महानगर वडा नंं.१३ कुसुन्ती, वडा नंं. १४, वडा नंं.२६ र २७ सुनाकोठी, वडा नंं. १८ र २५ भैसीपाटीका बासिन्दालाई सहज हुनेछ । 
नगर प्रमख चिरीबाबु महर्जनले ललितपुर उपमहानगरलाई महानगर बनाउने क्रममा गाभिएका गाविस वडाहरुसँग चक्रपथभित्रका वडा जोड्न महानगरले यसअघि दुईवटा पुल निर्माणको काम थालेको बताए । उनले भने, ‘सुनाकोठी र कुसुन्तीमा निर्माणसम्पन्न हुँदै गरेका पुल र यो पुलले कनेक्टिभिटीमा धेरै महत्व राख्छ, आवजतज सहज हुन्छ ।’ ललितपुर उपमहानगरलाई महानगर बनाउने क्रममा गाभिएका वडासँग जोड्ने गरी निर्माण थालिएको यो पुल निर्माणलाई विशेष महत्वका साथ हेरिएको छ । महानगर प्रमुख महर्जनले बुङमतिका नगरवासीलाई पुल्चोक आउन यो पुलको प्रयोग गर्दा छिटो हुने बताए । 
महानगर प्रमुख महर्जनले  तोकेको समयमा नै काम सक्न निर्माण कम्पनीमा लाई अनुरोध गरेका छन् । समयअघि नै काम सके पुरस्कार दिने बताउँदै काम नसक्दा दण्ड जरिवाना गराउने समेत चेतावनी दिए । 
ललितपुर महानगरका इन्जिनियर प्रदीप पौडेलले निर्माण गरिने पुलले वडा नं. २५ ,१८, २६ , २७, १३, १४ का बासिन्दा प्रत्यक्ष लाभान्वित हुने बताए । यी पुलको निर्माणपछि चक्रपथबाहिरका वडा र चक्रपथसँग जोडिएका वडामा बसोबास गर्नेलाई धेरै सहज हुने उनको भनाई थियो महानगरको प्राविधिक टिमले नै सुपरभिजनको काम गर्ने उनको भनाइ थियो । 
निर्माण व्यवसायी सुशिल लामिछानेले जनप्रतिनिधिलगायत सम्पूर्णको सहयोग प्राप्त भएमा पुल निर्माणको काम समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ललितपुर महानगरले यसअघि सुनाकोठी र कुसुन्तीमा निर्माण सुरु गरेको पुल करीब ७० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । यी दुई पुलको निर्माण डेढ वर्ष अघि सुरु गरिएको थियो । सुनाकोठीमा निर्माण भएको पुलले वडा नंं.२२ बुङमतिलाई जोड्छ भने कुसुन्तीमा निर्माण भएको पुलले वडा नंं.२५ र १८लाई जोड्छ । ग्वार्खो र हात्तीवनमा पुल निर्माणका लागि अध्ययनका लागि महानगरले बजेट विनियोजन गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार