कोरोना खोपमा पनि धनी राष्ट्रहरूको बलमिच्याँइ

खोप ‘ओगटेर’ धेरै सञ्चित
बुधबार, मंसिर २४, २०७७

लण्डन । धनी राष्ट्रहरूले कोभिड खोपको धेरै मात्रा सञ्चय गर्दा गरिब मुलुकहरूमा बस्ने मानिसहरूले खोप नपाउने अवस्था आउने अभियानकर्मीहरूको एक समूहले चेतावनी दिएको छ । ‘द पीपल्स भ्याक्सिन अलाइअन्स’ ले करिब ७० वटा न्यून आय भएका मुलुकमा १० जनामा एकजनाले मात्र खोप पाउन सक्ने अवस्था रहेको बताएको छ । अक्सफोर्ड–एस्ट्राजेनेकाले उसको उत्पादनको ६४ प्रतिशत खोप विकासशील मुलुकलाई दिने भनेपछि पनि त्यस्तो अवस्था रहेको अभियानकर्ताहरूको भनाइ छ । विश्वभर खोपमाथिको पहुँच न्यायपूर्ण बनोस भनेर काम भइरहेको छ । गरिब मुलुकहरूमा समेत खोप पुगोस भनेर काम गर्ने संस्था कोभ्याक्सले खोप भित्र्याउन खोजिरहेका ९२ वटा न्यून आय भएका मुलुकमा बाँड्न ७० करोड खोपको मात्रा आफूसँग रहेको बताएको छ । त्यस्तो अवस्था हुँदा हुँदै गठबन्धनमा रहेका एमनेष्टी इन्टरनेशनल, अक्सफाम, ग्लोबल जस्टीस नाउलगायतका संस्थाले खोप पर्याप्त नभएको भन्दै औषधी कम्पनीहरूले धेरै मात्रा उत्पादन गर्न प्रविधि हस्तान्तरण गर्नुपर्ने बताएका छन् । उनीहरूको विश्लेषणमा धनी देशहरूले आफ्ना सम्पूर्ण जनसंख्यालाई तीन पटक भन्दा बढी खोप दिन मिल्ने गरी खोपको मात्रा किनिसकेका छन् । 
पाँचपटक लगाउन पुग्ने गरी खोप
क्यानडाले हरेक नागरिकलाई पाँचपटकसम्म लगाउन पुग्ने गरी खोप अर्डर गरेको दाबी गरेको छ । धनी देशले सम्पूर्ण जनसंख्याको १४ प्रतिशत ओगट्छन् । अहिलेसम्म बन्ने भनेका खोपको ५३ प्रतिशत उनीहरूले किनिसकेका छन् । अक्सफामकी स्वास्थ्य नीति व्यवस्थापक आना म्यारिओटले भनिन् ‘जीवन रक्षा गर्ने खोप कुनै मुलुकमा जन्मेकै कारण वा खल्तीमा कम पैसा भएका कारण लिनबाट कसैलाई पनि बञ्चित पारिन हुँदैन । तर केही कुरा नाटकीय रूपमा परिवर्तन नभएसम्म संसारभर रहेका अर्बाैं मानिसले कैयौँ वर्षसम्म कोभिड–१९को खोप लगाउन पाउने छैनन् ।’
द पीपल्स भ्याक्सिन अलाइअन्सले सबै औषधि उत्पादनकर्तालाई उनीहरूको प्रविधि र स्वामित्व अधिकार हस्तान्तरण गर्न आग्रह गरेका छन् । त्यसो भयो भने मात्र जसलाई चाहिन्छ उसले पाउने गरी खोप उत्पादन गर्न सकिने उनीहरूको भनाइ छ । त्यो विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मार्फत् गर्न सकिने उनीहरूले बताएका छन् । अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोप उत्पादन गरिरहेको एस्ट्राजेनेकाले गैरनाफामूलक तरिकाले विकासशील मुलुकलाई आफ्नो खोप उपलब्ध गराउने बताएको छ । यो अन्य खोप भन्दा सस्तो छ र सामान्य फ्रिजको तापक्रममा भण्डारण गर्न सकिन्छ त्यसैले संसारभर वितरण गर्न सहज हुने बताइएको छ । तर अभियानकर्ताहरूले एउटा मात्र कम्पनीले सारा संसारका लागि आवश्यक खोप उत्पादन गर्न नसक्ने तर्क गरेका छन् । फाइजर बायोएनटेक खोपले यूकेमा अनुमति पाइसकेको छ । सबभन्दा जोखिममा रहेकाहरूलाई यसै सातादेखि खोप दिन सुरु गरिएको छ । अमेरिका र यूरोपका अन्य मुलुकमा पनि यसले छिटै अनुमति पाउने सम्भावना छ । त्यसैले गरिब राष्ट्रमा पुग्न समय लाग्ने देखिन्छ । मोडेर्ना र अक्सफोर्ड–एस्ट्राजेनेकाले केही मुलुकहरूमा नियामकहरूबाट अनुमति कुरिरहेका छन् । रुसी खोप स्पुटनिकले पनि परीक्षण परिणाम सकारात्मक आएको बताएको छ । त्यसैगरी चारवटा अन्य खोप पनि क्लिनिकल परीक्षणको अन्तिम चरणमा रहेको बताएइको छ ।–बीबीसी
 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७  १७:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार