कोरोनाबाट मृत्यु भएका आफन्तको शव व्यवस्थापन आफैँ गर्दै धनगढीका स्थानीय 

मंगलबार, वैशाख २८, २०७८

धनगढी । कैलालीको भजनी नगरपालिका-१ को हो स्थानीय ४३ वर्षीय महिलाको मङ्गलबार बिहान कोरोना सङ्क्रमणका कारण ज्यान गयो। मृत्युको पीडा त छँदै थियो, त्योसँगै शवको व्यवस्थापनमा कसैले पनि चासो नदेखाउँदा श्रीमानले नै खाल्डो खनेर अन्त्यष्टि गर्नु परेको थियो ।   करीब एक हप्तादेखि भजनी अस्थायी कोभिड अस्पतालमा उपचाररत उनको मङ्गलबार बिहान ३ बजेतिर मृत्यु भएको थियो । 
मृत्युपछि उनको शव व्यवस्थापन गर्न कोही अघि सरेनन् । नगरपालिकाको टिपरले शव भजनी नगरपालिका¬३ मा रहेका कान्द्रा नदी किनारमा छाडेर गयो त्यसपछि मृतकका श्रीमान् आफैँले शव व्यवस्थापन गरेका हुन् । कसैले खाल्डो खन्ने उपकरण समेत नदिएपछि उनले घरबाटै लिएर जानु परेको थियो ।  भजनी नगरपालिकामा  कोरोना सङ्क्रमितको शव व्यवस्थापनका लागि स्वास्थ्य मापदण्ड पालना गरेर बढीमा २५ जना सहभागी हुने गरी भरपाइ बनाएर अस्थायी कोभिड अस्पतालले आफन्तलाई जिम्मा दिने गरेको छ । त्यसपछि नगरपालिकाले टिप्पर र जेसिबी प्रयोग गरेर शवको व्यवस्थापन गरिरहेको छ ।  शव व्यवस्थापनका लागि खाल्डो खन्न नगरपालिकाले जेसिबी पठाउने गरेता पनि यस पटक जेसिबीको टायर बिग्रेकाले पठाउन नसकिएको नगरप्रमुख शेरबहादुर चौधरीले बताए । भजनी नगरपालिकाले स्थापना गरेको १५ शय्याको अस्थायी कोभिड अस्पतालमा स्वास्थ्यकर्मी र उपकरण सँगसँगै अत्यावश्यक खानेपानीको समेत समस्या भइरहेको छ ।-रासस

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १६:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार