श्रीकृष्ण जन्माष्टमीको अवसरमा कृष्णलीला प्रर्दशन

बुधबार, भदौ २०, २०८०

काठमाडौं । भगवान श्रीकृष्णको जन्माष्टमीको अवसरमा तिनकुनेस्थित ट्रिटन सेकेण्डरी स्कुलमा विविध कार्यक्रमको आयोजना गरी भगवान श्रीकृष्णको जन्मदेखि उनले गरेका लीलाका बारेमा विद्यार्थीले प्रदर्शन गरे ।
भगवान विष्णुको आठौं अवतारको रूपमा द्वापर युगमा जन्मेका श्रीकृष्ण जन्माष्टमीलाई सनातन हिन्दु धर्मालम्वीहरूले भव्य तरिकाले मनाउँदै आएका छन् ।    
सो विद्यालयले कृष्णलीला प्रस्तुत गरेको यो तेस्रो पटक हो । ४ देखि १० कक्षासम्मका विद्यार्थीहरूलाई सहभागी गराई भगवान कृष्णको विभिन्न रुप, जन्मेदेखि उनले गरेका सबै क्रियाकलापको साथै मट्का फोर्ने कार्यसमेत तिनै विद्यार्थीमार्फत कलात्मक नाटकमार्फत प्रस्तुत गरिएको थियो ।

TR main1693990618.jpg
कंशको कारागारमा रहेका बेलामा जन्मेका बासुदेव र देवकीका आठौं सन्तान भगवान श्रीकृष्णको जन्मदेखि, यमुना नदी पार, श्रीकृष्णको नामाकरण, उनको बालापन, मख्खन चोरी, कालिया नागको वध, गोर्वद्धन पर्वत उठाएर किसान र गौमाताहरुको संरक्षण, गुरुकुल शिक्षा हासिल, कृष्ण सुदामासंगको मित्रता, द्रौपदी चीरहरणमा द्रौपदीको इज्जत बचाउनेदेखि महाभारतको लडाँईताका आफ्नो विराट रुप देखाउँदै अर्जुनलाई गीताको उपदेश दिएसम्मका कथालाई समेटेर विद्यार्थीहरुले श्रीकृष्णको लीला देखाएका थिए ।
कृष्णलीलाको डिभि ग्रुपकी अध्यक्ष विश्वनाथ शाहकी धर्मपत्नी देवकी शाहले उद्घाटन गर्दै कृष्ण झुला झुलाएकी थिइन ।  
पछिल्लो समयमा साना केटाकेटी र विद्यार्थीहरू मोवाइल र टेलिभिजनमा कार्टुनमा मात्रै झुम्मिन थालेकोले भगवानका कथाहरू पढ्न छाडिसकेको अवस्थामा विद्यार्थीलाई नै सहभागी गराई कृष्ण लीलामार्फत भगवान श्रीकृष्णको सच्चरित्र सिलसिलेवार रुपमा प्रदर्शन गरिएको विद्यालयकी निर्देशक ममता शाहले बताइन ।
जीवनमा धेरै किस्मिका उतार चढाव आएता पनि आफ्नो लक्ष्य विर्सन नहुने भगवान श्रीकृष्णले सिकाएको उल्लेख गर्दै विद्यालयकी निर्देशक शाहले विद्यार्थीहरूलाई आम नेपालीहरूले मनाउँदै आएकोे सनातन धर्म, संस्कृति र परम्परालाई आत्मसात् गर्न विद्यार्थीलाई सिकाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् ।
प्रदर्शनी सो विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकका साथै अन्य विद्यालयका प्रिन्सिपल र शिक्षकहरूले समेत अवलोकन गरेका थिए ।

 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार