जथाभावी खुलेको पसल बन्द गराउन प्रजिअको नेतृत्वमा सुरक्षाकर्मीको टोली सडकमा

मंगलबार, वैशाख २८, २०७८

भक्तपुर । सडकमा गुडेका विना पासका सवारी साधन र जथाभावी खुलेका पसल व्यवसाय रोक्न भक्तपुरका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षाकर्मीको टोलीले सडकमा अनुगमन गरेको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको नेतृत्वमा महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक तारादेवी थापा, राष्ट्रिय अनुसन्धान विभाग भक्तपुरका प्रमुख विकास पाण्डे, शसस्त्र प्रहरी गण दुवाकोटका प्रहरी नायब उपरीक्षक लीला कार्कीलगायत जिल्ला सुरक्षा समितिको टोलीले अनुगमन गरेको हो । टोलीले सूर्यविनायक चोक, काभ्रे र भक्तपुरको सिमाना रहेको साँगा चोक र काठमाडौं र भक्तपुरको सिमाना रहेको पेप्सीकोलाको मनोहरा पुलमा अनुगमन गरेको थियो ।  अनुगमनका क्रममा निधेषाज्ञाअनुरुप बजार बन्द भएको पाइएको र सडकमा सवारी पास लिएका र अधिकांश सरकारी तथा वित्तीय संस्थाका कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार तथा सुरक्षाकर्मीले कार्यालयको परिचयपत्र लिएर सवारी साधन सञ्चालन गरेको पाइएको छ । साँगा नाकामा सवारी पास नभएका र अत्यावश्यक बाहेकका काममा सडकमा सवारी साधन लिएर काठमाडौं प्रवेश गर्न खोज्नेलाई साँगाबाटै फर्काइएको प्रजिअ भट्टराइले जानकारी दिए । एक घण्टा सागा चोकमा बसेको अनुगमन टोलीले आफैँले सवारी साधनको जाँच गरेको थियो । नाका र सडकमा खटिएका सुरक्षाकर्मीलाई पास नभएका र अत्यावश्यक कामबाहेक ओहोर दोहोर गर्नेलाई प्रवेश नदिन सुरक्षाकर्मीलाई निर्देशन समेत दिएको छ । मनोहरामा भएको अनुगमनमा उपत्यकाका तीनवटा जिल्ला प्रशासनबाट पास लिएर सडकमा आएका तीनवटा मात्रै सवारी साधन भेटिएको र अरु परिचय पत्रका आधारमा आएको पाइएको छ । सडकमा जथाभावी पैदल हिड्न नदिन, सवारी पास नभएका सवारी साधनलाई रोक्न र निषेधाज्ञालाई कडाइका साथ लागू गर्न अनुगमन गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिइन् । निषेधाज्ञालाई थप कडाइ गर्न सुरक्षाकर्मीलाई अनुगमन टोलीले निर्देशन दिएको र आगामी दिनमा पछि छड्के अनुगमन जारी राख्ने उनले जानकारी दिइन् ।–रासस
 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  ०५:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार