पाँच हजार अक्सिजन सिडिण्डर वितरण 

निर्माण आयोजनाका अक्सिजन सिलिण्डर अस्पताललाई दिन आह्वान
मंगलबार, वैशाख २८, २०७८

काठमाडौँ । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पाँच हजार ४३२ थान अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ । सङ्कलित सिलिण्डर मध्ये एक हजार ४४१ भरी रहेको र तीन हजार ९९१ खाली सिलिन्डर रहेका छन् । त्यसमध्ये चा हजार ५८९ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ । बाँकी ८४३ अक्सिजन सिलिन्डर जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकताअनुसार वितरण गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
कतिपय खाली सिलिन्डरलाई भर्नका लागि डिपोमा पठाइएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए । आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्ति लगायत अन्य सङ्घसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदाममा स्टक गरी राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्या अनुसार वितरण गरिएको प्रहरीले जनाएको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो चरणको सङ्क्रमणको कारण महामारीले चरम रुप लिइरहेको विषम परिस्थितिमा यसको सङ्क्रमण रोकथाम, नियन्त्रणका लागि नेपाल प्रहरीले सिलिण्डर सङकलनमा सक्रियता बढाएको हो । स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनका लागि स्टक राख्ने व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान समेत भइरहेको जनाइएको छ । जथाभावी रुपमा मौज्दात गरेको पाइए प्रहरी कारबाही हुने चेतावनी दिइएको छ । 

निर्माण आयोजनाका अक्सिजन सिलिण्डर अस्पताललाई दिन आह्वान

नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण आयोजनामा उपयोग भएका अक्सिजन सिलिण्डर नजिकका अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ । महासङ्घका महासचिव रोशन दाहालले विज्ञप्ति जारी गरी यस विषम परिस्थितिमा पुल, हाईड्रो, ट्रष्ट, स्टील लगायतका निर्माण कार्य गर्दा वेल्डिङका लागि प्रयोग गर्न मौज्दात राखिएका अक्सिजन सिलिण्डरको लगत राखी सम्बन्धित् स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकार मार्फत् नजिकका अस्पताललाई तत्काल उपलब्ध गराउन आह्वान गर्नुभएको हो । यसमा सहयोग गर्न हुन अन्तर्गतका सम्पूर्ण सदस्य, प्रदेश महासङ्घ, जिल्ला सङ्घ, एसोसिएट सदस्य तथा वस्तुगत संङ्घलाई महासङ्घले विज्ञप्तिमार्फत् अपिल गरेको छ । देशभर हाल सञ्चालित साढे छ हजार परियोजनामध्ये लगभग दुई हजारमा अक्सिजन सिलिण्डरको प्रयोग भएको छ ।  ती सिलिण्डर कोभिड सङ्क्रमितको उपचारमा प्रयोग गर्न सकिए मानवीय क्षति केही कम गर्न सकिने हुँदा सोही बमोजिम गर्न गराउन हुन महासङ्घले अनुरोध गरेको हो । गत वर्ष कोरोना भाइरसको पहिलो लहरबाट मुलुक आक्रान्त हुँदा महासङ्घले सङ्घीय सरकार तथा प्रदेश सरकारलाई आर्थिक सहयोग गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विगतमा पनि महाभूकम्प, बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिको समयमा आफ्नो ठाउँबाट गर्न सक्ने अधिकतम सहयोग गरी पीडितको घाऊमा मल्हम लगाउने कार्य गरेको स्मरण पनि महासङ्घले गराएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को दोस्रोे लहरबाट देशभर सङ्क्रमित भएका बिरामीको उपचारका क्रममा हाल देखिएको अक्सिजनको चरम अभावका कारण धेरैको ज्यान समेत गइरहेको छ । यस खबरबाट महासङ्घ मर्माहत भई यस्तो निर्णय गरिएको महासचिव दाहालले बताएका छन् ।–रासस
 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  ०५:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार