थप नौ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण, १३९ जनाको मृत्यु पुष्टि

सोमबार, वैशाख २७, २०७८

काठमाडौं । नेपालमा गत २४ घण्टामा थप ९,२७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै मन्त्रालयले थप १३९ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको पुष्टि गरेको छ । पीसीआर विधि र एन्टिजेन विधिबाट १८,४११ जनाको परीक्षण गर्दा अहिले त्यति संख्यामा सङ्क्रमितहरू फेला परेका हुन् । चौबीस घण्टाको अवधिमा ४,००७ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । तीमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा हुनेको संख्या सर्वाधिक भएको सरकारको तथ्याङ्कले देखाउँछ । सरकारले सोमवार ७,४४८ जनामा सङ्क्रमण र ३७ जनाको मृत्यु, मङ्गलवार ७,६६० जनामा सङ्क्रमण र ५५ जनाको मृत्यु, बुधबार ८,६५९ जनामा संक्रमण र ५८ जनाको मृत्यु, बिहीवार थप नौ हजार जनामा कोरोनाभाइरस सङ्क्रमण र ५४ जनाको मृत्यु, शुक्रबार ९,१९६ जनामा सङ्क्रमण र ५० जनाको मृत्यु, शनिबार ८,४१८ जनामा कोरोना भाइरस संक्रमण र ५३ जनाको मृत्यु र आइतवार ८,८५० जनामा सङ्क्रमण र ८८ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा केही सातादेखि परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च भएको देखिन्छ । सङ्क्रमितहरू विभिन्न उमेर समूहका भए पनि २० वर्षदेखि ४९ वर्षसम्मका मानिसको संख्या सर्वाधिक छ । अहिले कोरोनाभाइरसबाट प्रभावित विभिन्न जिल्लामा निषेधाज्ञा वा अन्य प्रतिबन्धात्मक आदेशहरू जारी गरिएको छ ।

निषेधाज्ञा १५ दिन थप्न सिफारिस
काठमाडौं उपत्यकामा अझ १५ दिन निषेधाज्ञा थप गर्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीले सोमबार सिफारिस गरेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् । डीसीसीएमसीमा काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुख र तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी समाविष्ट छन् । कोरोनाभाइरस संक्रमण फैलिने गति तीव्र हुँदै गएपछि गत वैशाख १६ गते एक हप्ताका लागि निषेधाज्ञा लगाइएको थियो ।
पराजुलीका अनुसार डीसीसीएमसीको सिफारिसबारे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निर्णय गर्नेछ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १९:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार