प्रधानमन्त्री ओली संसद्मा विश्वासको मत जुटाउन असफल

एमालेकै माधव नेपाल समूह मतदानमा अनुपस्थित
सोमबार, वैशाख २७, २०७८

पक्षमा एमालेको ओली समूहकै मात्र मत
विपक्षमा कांग्रेस, माओवादी केन्द्र, जसपा भित्रको उपेन्द्र बाबुराम समूहको मत
साना दलले पनि विपक्षमा मत दिए  


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत जुटाउन असफल भएका छन् । संसद्को विशेष अधिवेशनमा सोमबार विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुँदा विश्वासको मतको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ मत परेको छ । १५ मत दिन्न भन्ने पक्षमा परेको छ ।
संसद्मा कुल सदस्य मध्ये २३२ उपस्थित थिए । विश्वासको मतको पक्षमा नेकपा एमालेका ओली समूहले मात्र मतदान गरेको थियो । विपक्षीमा नेपाली कांग्रेस, नेपका माओवादी केन्द्र, जनता समाजवादी पार्टीका उपेन्द्र–बाबुराम समूह, साना दलले मत राखेका थिए । विश्वासतको मत दिने दिन नेकपा एमालेको माधव कुमार नेपाल–झलनाथ खनाल समूह पनि उपस्थित थिएन् ।
संवैधानिक व्यवस्थानुसार २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सदस्य कायम  छ । दल त्यागसम्बन्धी व्यवस्था अनुसार नेकपा (माओवादी केन्द्र) ले कारवाही गरेपछि मन्त्री टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीको स्थान रिक्त छ । सांसद विजयकुमार गच्छदार, मोहम्मद आफताव आलम, रेशम चौधरी र हरिनारायण चौधरी निलम्बनमा छन् । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत प्राप्त गर्न आवश्यक छ । मत बराबर भएका खण्डमा सभामुखले निर्णायक मत दिनेछन् । अधिवेशनमा २६६ सांसदले मतजाहेर गर्नेछन् । 
प्रधानमन्त्री ओलीले राख्ने विश्वासको मतमा एमालेका १२१, नेकपा (माओवादी केन्द्र)का ४८, नेपाली कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२, राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी र  राष्ट्रिय प्रजातन्त्र पार्टीका एकएक तथा स्वतन्त्र एक सांसदलाई मताधिकार छ । 
मत विभाजन प्रक्रियाबाट विश्वासको मतको टुङ्गो लगाइएको हो । मत विभाजनका लागि सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै निर्वाचन प्रक्रियाका बारेमा जानकारी गराएका थिए । मत विभाजनका लागि हुन्छ, हुन्न र दिन्न भन्ने तीन तरिका व्यवस्था गरिएको थियो । विश्वासको मत लिने सन्दर्भमा यस पटकको विशेष व्यवस्थाका रुपमा कोरोना संक्रमणबाट प्रभावित सांसदका लागि बेग्लै कक्षमा मतदानको व्यवस्था गरिएको थियो ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १७:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार