नेपालमा हेलिकप्टर उडान किन जोखिमपूर्ण ?

शुक्रबार, असार २९, २०८०

काठमाडौं । मन्त्री र राज्यमन्त्री सहितका विशिष्ट व्यक्ति र कैयौँ सर्वसाधारणले ज्यान गुमाइसके पनि नेपालमा हेलिकप्टर दुर्घटनाको जोखिम कम गर्न पर्याप्त पहल नभएको गुनासो आएको छ । 
उच्च पहाडी भूभागको मौसम पूर्वानुमानका लागि पर्याप्त पूर्वाधार र स्रोतको अभावले त्यो क्षेत्रको उडान चुनौतीपूर्ण हुने पाइलटहरू बताउँछन् ।
नागरिक उड्डयन प्राधिकरणको पछिल्लो हवाई सुरक्षा प्रतिवेदनअनुसार नेपालमा हालसम्म भएका हेलिकप्टर दुर्घटनामा ८५ जना बढीले ज्यान गुमाएका छन् ।
सन् २०१९ सम्म भएका हेलिकप्टर दुर्घटनासम्बन्धी विवरण समेटिएको उक्त प्रतिवेदन सार्वजनिक भएयताका कैयौँ हेलिकप्टर दुर्घटनाको विवरण नियामक निकायले अद्यावधिक गर्न बाँकी छ।
नेपालमा विभिन्न समयमा भएका हेलिकप्टर दुर्घटनामा तत्कालीन मन्त्री र राज्यमन्त्रीसमेतले ज्यान गुमाएका थिए ।
प्राधिकरणको अभिलेखमा सबैभन्दा पहिलो हेलिकप्टर दुर्घटना सन् १९८९ मा लाङटाङमा भएको देखिन्छ। विशिष्ट व्यक्तिहरू लिएर गएको उक्त हेलिकप्टर दुर्घटनामा छ जनाको ज्यान गएको थियो ।
सन् २००६ मा ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा नेपालको इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो मानवीय क्षति भएको थियो ।

मनाङ एयर

‘माउन्ट एभरेस्ट’ हेर्न नेपाल आएका परिवारका सबै सदस्य हेलिकप्टर दुर्घटनामा  वन्यजन्तु संरक्षणसम्बन्धी एउटा कार्यक्रममा सहभागिताका लागि एमआई १७ हेलिकप्टरमा उडेको तत्कालीन बन तथा भू संरक्षण राज्यमन्त्री गोपाल राई सहितको टोली दुर्घटनामा परेको थियो । निकै विकट क्षेत्रमा भएको दुर्घटनामा हेलिकप्टरमा सवार सबै २४ जनाको मृत्यु भएको थियो । सन् २०१९ को फेब्रुअरीमा ताप्लेजुङकै पाथीभरामा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको ज्यान गयो ।
दुर्घटनापछि छानबिनका लागि गठित समितिले उक्त हेलिकप्टर दुर्घटनामा प्रतिकूल मौसम र त्यसको आकलनमा पाइलटको कमजोरी कारण रहेको औँल्याएको थियो । दुर्घटनापछि उच्च पहाडी क्षेत्रमा जाने त्यस प्रकारका हेलिकप्टरमा सात जनाको सट्टा ६ जना मात्रै चढाउन पाइने नियम लागु गरियो ।
पाथीभरा हेलिकप्टर दुर्घटनासहित नेपालका अन्य कैयन् विमान दुर्घटना छानबिन समितिमा रहेर काम गरेका नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार नेपालमा भएका धेरै उड्डयन दुर्घटनामा प्रतिकूल मौसम र त्यसको आकलनमा हुने चालकको कमजोरी प्रमुख देखिएका छन् ।
“एउटा दुर्घटनासँग दशौँ वटा कारण जोडिएका हुन्छन्। मूल कारण एउटा भए पनि त्यो अवस्था निम्तिनुमा अन्य धेरै कारणले भूमिका खेलेको हुन्छ,” लामिछाने भन्छन् ।
उनका अनुसार विमान दुर्घटनापछि नेपालमा भएका अधिकांश छानबिनले विमानको उपकरण र मर्मतसम्भारको अभावलाई प्रमुख कारणका रूपमा औँल्याएका छैनन् ।
उपकरणमा समस्या आएको अवस्थामा विमान वा हेलिकप्टरहरूमा पूर्व सूचना दिने आन्तरिक प्रणाली पनि जडान गरिएको हुन्छ । “यस्ता दुर्घटनाहरूमा अन्तिम अवस्थामा लिइने निर्णय नै प्रमुख देखिन्छ। त्यसमा अन्य मौसमका कुराहरू पनि आएर जोडिन्छ,” उनले थपे ।

भूगोल जिम्मेवार हो ?
सहसचिव लामिछाने नेपालमा भूगोल अनुसारकै हेलिकप्टरहरू उडाइने भएका कारण त्यसलाई दोष दिन नमिल्ने तर्क गर्छन् । “भूगोललाई कुनै हालतमा दोष दिन मिल्दैन। भूगोललाई हामीले फेर्न मिल्दैन त्यही भूगोल अनुसारको सुरक्षित उडान गर्ने हो नि,” उनी भन्छन् ।
यस्तो अवस्थामा उडानका नियम र अनुभवका आधारमा विमान चालकहरूले निर्णय लिनुपर्ने बाध्यता रहेको जानकारहरू बताउँछन् । “उच्च पहाडी भूभागको मौसम परिवर्तनशील हुन्छ। त्यस कारणले यस्ता ठाउँमा आँखाले देखिएका आधारमा उडान गर्नुपर्ने बाध्यता छ,” लामिछाने पनि यो तर्कमा सहमत छन् ।
यद्यपि भूगोलका कारण प्रतिकूल मौसमको आकलन गर्न कठिन हुने एक जना अनुभवी पाइलट बताउँछन् ।
निजी हेलिकप्टर सेवा प्रदायक माउन्टेन हेलिकप्टरका निर्देशक समेत रहेका क्याप्टेन शैलेन्द्र बस्नेत नेपालको उच्च पहाडी क्षेत्रको मौसम पूर्वानुमानका लागि पर्याप्त पूर्वाधारहरू नरहेको बताउँछन् । उनका अनुसार त्यसका कारण नेपालको उच्च पहाडी क्षेत्रमा हेलिकप्टर उडाउन निकै ठूलो चुनौती छ । “यहाँको भौगोलिक बनोट र मौसमले गर्दा साँच्चिकै चुनौती छ,” बस्नेत भन्छन्, “भूगोलभन्दा पनि हामीसँग मौसम पूर्वानुमानको पूर्वाधार हुनुपर्नेमा त्यो नहुँदा सबैभन्दा गाह्रो भएको छ।” 
यसका लागि सरकारले पर्याप्त बजेट पनि नछुटाइएको उनले गुनासो गरे । नेपालमा उद्धारका लागि पनि हेलिकप्टरको व्यापक प्रयोग हुने गरेको छ । अधिकारीहरू नेपालमा हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा नागरिक उड्डयन प्राधिकरणले काम गरिरहेको दाबी गर्छन् ।
स्थानीय मौसमबारे जानकारी दिन सगरमाथा क्षेत्रका कतिपय पदयात्रा मार्गहरूमा वेब क्यामराहरू पनि जडान गरिएका छन् । ती वेबक्याममा कैद हुने दृश्यहरू सार्वजनिक रूपमा उपलब्ध हुन्छन् । तर इन्टरनेट पहुँचको अभावका कारण यस्ता क्यामराहरूबाट प्राप्त हुने दृश्य पनि सबै ठाउँबाट हेर्न नसकिने अनुभवी क्याप्टेन बस्नेत बताउँछन् । उनी यस्ता वेबक्यामहरू अझै धेरै ठाउँमा जडान गरिनुपर्ने बताउँछन् ।
मौसमबारे जानकारीका लागि धेरै गन्तव्यमा उडानका लागि मौसम पूर्वानुमानबारे जानकारी दिने विदेशी अनलाइन स्रोतहरूमा निर्भर रहनुपर्ने बस्नेतले बताए ।
“कतिपय स्थानमा जाँदा हामी स्थानीयवासीलाई फोन गरेर पनि मौसम कस्तो छ, बादल छरछैन, छ भने कति माथि छ भनेर सोध्नुपर्ने अवस्था छ,” उनले भने । बस्नेतका अनुसार नेपालमा मुख्य चुनौती मौसमसम्बन्धी पूर्वाधारको अभाव नै हो ।
“जस्तो विदेशमा सबै अटोमेटेड (स्वचालित) हुन्छ। रेडारहरू पनि हुन्छ। यहाँ त हामीले कुन वेब आइराछ भनेर हेर्न पनि अन्तर्राष्ट्रिय साइटहरूमा जानुपर्ने हुन्छ तर त्यसमा नेपाल प्राथमिकतामा पर्दैन,” उनले भने ।
उनी भारत र चीनले भू उपग्रहबाट प्राप्त गर्ने मौसमसम्बन्धी जानकारी नेपालले पनि लिन सके त्यसले उच्च पहाडी भूभागमा हुने हेलिकप्टर उडान सुरक्षित बनाउन मद्दत गर्ने ठान्छन् ।

कहाँ भए धेरै दुर्घटना ?
नेपालमा पछिल्ला केही महिनामा भएका तीन वटा हेलिकप्टर दुर्घटनामध्ये दुई वटा उच्च पहाडी र हिमाली क्षेत्रमा भएका छन् ।
गत अप्रिलमा हेली एभरेष्टको विमान धौलागिरि बेस क्याम्पमा र मे मा सिम्रिक एअरको विमान सङ्खुवासभामा दुर्घटना भएका थिए ।

हेलिकप्टर दुर्घटना
नागरिक उड्डयन प्राधिकरणको प्रतिवेदन अनुसार अधिकांश हेलिकप्टर दुर्घटनाहरू हिमाली जिल्लामा भएका छन् र विज्ञहरूका अनुसार त्यस क्षेत्रको मौसम पूर्वानुमान सहज छैन । त्यसमध्ये पनि सबैभन्दा धेरै दुर्घटना सगरमाथा क्षेत्र रहेको हिमाली जिल्ला सोलुखुम्बुमा भएको देखिन्छ । नेपालमा पछिल्लो दशक हिमाली दृश्यावलोकन, ढुवानी र उद्धारका लागि हेलिकप्टरको प्रयोग बढ्दो छ । 

हेलिकप्टर उडानमा “नयाँ प्रावधान

हेलिकप्टर र छोटो धावनमार्गमा समेत उडान तथा अवतरण गर्न सक्ने खालका हवाई सेवा सञ्चालनका सम्बन्धमा नियामक निकायले बिहीवार जारी गरेका “नयाँ प्रावधान”मध्ये केहीप्रति नेपालका हेलिकप्टर सञ्चालकले आपत्ति जनाएका छन् भने अधिकारीहरूले आफूहरू छलफलका लागि खुला रहेको बताएका छन् ।
प्राधिकरणका अधिकारीहरूले आफ्नो निर्णयको बचाउ गर्दै “दुर्घटना न्यून गर्न तथा हवाई सुरक्षाका निम्ति” केही समयका लागि ती प्रावधानहरू लागु गरिएको बताएका छन् ।
गत मङ्गलवार सोलुखुम्बुमा भएको मनाङ एअरको हेलिकप्टर दुर्घटनामा ६ जनाले ज्यान गुमाएको पृष्ठभूमिमा प्राधिकरणले ती प्रावधानहरू ल्याएको छ ।

प्राधिकरणले जारी गरेका प्रावधानमा हेलिकप्टर सञ्चालनका क्रममा उडान वा अवतरणमध्ये एउटा कार्य विमानस्थलबाटै हुनुपर्ने उल्लेख छ ।
त्यस्तै प्राधिकरणले मनसुन अवधिभरि हेलिकप्टरबाट ‘माउन्टेन फ्लाइट’मा पनि रोक लगाएको छ भने हेलिकप्टरबाट गरिने पुष्पवृष्टि एवम् अन्य त्यस्तै खाले गतिविधि गर्न रोक लगाएको छ ।
प्राधिकरणले हेलिकप्टर कम्पनीमा लगानी भएका पाइलटहरूले सोही कम्पनीको हेलिकप्टर उडाउन नपाउने व्यवस्था पनि गरेको छ । त्यसले अहिले आफ्नो शेयर भएका कतिपय पाइलटहरूले हेलिकप्टर उडाउन नपाउने अवस्था आएको सञ्चालकहरूको भनाइ छ ।
प्राधिकरणले हेलिकप्टर र छोटो धावनमार्गमा समेत उडान र अवतरण गर्न मिल्ने (स्टोल) सेवा सञ्चालनसम्बन्धी दैनिक नियन्त्रण र सुपरिवेक्षणका लागि टोली गठन गरेको जनाएको छ ।
साथै उसले बिहीवार ल्याएका प्रावधानको प्रभावकारिताका लागि साप्ताहिक रूपमा आवधिक समीक्षा गर्दै आगामी सेप्टेम्बरसम्म हेलिकप्टर सञ्चालनका लागि अनुमति दिने जनाएको छ ।

हेलिकप्टर

कति पाइलट प्रभावित हुन्छन् ?
हेलिकप्टर सञ्चालक तथा प्राधिकरणकै अधिकारीहरूका अनुसार विभिन्न कम्पनीहरूमा चालकहरूको लगानी रहेको छ । त्यस्ता पाइलटको सङ्ख्या १० भन्दा बढी हुनसक्ने बताइएको छ । अहिले नेपालमा १२ वटा कम्पनीले हेलिकप्टर उडान गरिरहेका छन् । प्राधिकरणका प्रवक्ता प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अब ती पाइलटहरूले कि हेलिकप्टर चलाउन छाड्नुपर्ने छ वा शेयर सदस्यबाट बाहिरिनु पर्नेछ।

सञ्चालकहरू के भन्छन् ?
हेलिकप्टर सञ्चालकहरू भने प्राधिकरणले ल्याएका कतिपय प्रावधान सकारात्मक भए तापनि कतिपय प्रावधानले व्यवसाय सञ्चालनमै असर पार्ने बताएका छन् ।
नेपाल हेलिकप्टर एसोसिएसनका महासचिव योगराज कँडेल शर्माले प्राधिकरणले मुख्य समस्या समाधान गर्नतर्फ भन्दा पनि चर्चाका लागि मात्र निर्णय गरेको बताए ।
नियमित अनुगमन गर्ने कुरा सकारात्मक भए तापनि पाइलट र लगानीकर्ता एकै हुनु हुँदैन भन्ने कुरा ठिक नभएको उनको तर्क छ ।
“मुख्य कारणमा भन्दा पनि सञ्चारमाध्यममा चर्चा पाउनका लागि मात्र प्राधिकरणले निर्णय गरेको जस्तो भयो,” उनले भने।
दुर्घटनाको मुख्य कारण नै पाइलटहरू भएको जस्तो गरेर प्राधिकरणले कुनै सल्लाहबिनै त्यस्तो गरेको उनको भनाइ छ । शर्माले उक्त निर्णयबारे पुनर्विचारका लागि प्राधिकरणसमक्ष पहल गर्ने बताए ।
मौसमबारे तत्कालको तत्कालै जानकारी दिने खालको अवस्था नबन्दासम्म दुर्घटनामा कमी नआउने एसोसिएसनका महासचिव शर्माको भनाइ छ ।

नेपालमा उद्धारका लागि पनि हेलिकप्टरको व्यापक प्रयोग हुने गरेको छ

प्राधिकरण के भन्छ ?
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला चाहिँ दुर्घटना कम गर्ने उद्देश्यले नै नयाँ प्रावधानहरू ल्याइएको बताउँछन् ।
“त्यसमा सञ्चालकहरूको वा चालकहरूको असहमति भएमा हामी छलफलका लागि खुला छौँ,” उनले भने ।
उनले मौसमसम्बन्धी जानकारीमा सुधार ल्याउन सरकारले पहल र आवश्यक कार्यहरू गरिरहेको बताउँछन् ।
“हेलिकप्टरको उडान सुरक्षित बनाउनका लागि नयाँ नियमहरू ल्याइएको हो। नयाँ प्रावधानहरू लागु भएपछि हेलिकप्टरको उडान सुरक्षामा सुधार आउने हाम्रो अपेक्षा छ,” उनी भन्छन् ।

नेपालमा सन् २००६ यता भएका केही घातक हेलिकप्टर दुर्घटना

  • एप्रिल २०१९– सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकिँदा कम्तीमा तीन जनाको मृत्यु
  • फेब्रुअरी २०१९ – एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा तात्कालिक संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु
  • सेप्टेम्बर २०१८– गोर्खाबाट काठमाण्डू आउँदै गरेको एल्टिट्यूड एअरको हेलिकप्टर धादिङ र नुवाकोटबीर रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त भएको थियो। एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु
  • मे २०१५ – भूकम्पपछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरीकोटनजिकै दुर्घटनाग्रस्त हुँदा छ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र पाँच सर्वसाधारणको मृत्यु
  • जुन २०१५ – सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
  • सेप्टेम्बर २००६ – ताप्लेजुङको घुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटनामा पर्दा तात्कालिक वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्केसहित २४ जनाको मृत्यु
  • मे २०२३ः संखुवासभाको सिप्रुङमा सिम्रिक एअरको एउटा हेलिकप्टर दुर्घटनामा पर्दा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार