सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य दिनेश दाहालको कोरोना सङ्क्रमणका कारण आज निधन भएको छ । गत वैशाख १ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि घरमै आइसोलेशनमा रहेका पत्रकार दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा आज उनको निधन भएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्तिमार्फत ४० वर्षको अल्पायुमै कोरोनाका कारण उनको निधन भएको खबरले स्तब्ध र दुःखी भएको उल्लेख गरेका छन् । विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रूपमा काम गरेका थिए । पत्रकार दाहाल पछिल्लो समय सिपोष्ट न्यूज डटकमका सम्पादक÷प्रकाशकका रूपमा पत्रकारितामा सक्रिय थिए । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको महासंघले जनाएको छ । स्वर्गीय दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् । महासंघले स्वर्गीय पत्रकार दाहालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । शोकको यस घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गरेको छ । कोरोनाकै कारण हालसम्म आठ पत्रकारको निधन भएको जानकारी दिँदै महासंघले हालसम्म ६५० पत्रकार सङ्क्रमित भएको तथ्याङ्क दिएको छ । पछिल्लो केही दिनयता कोरोना सङ्क्रमणको दर बढिरहेको छ । कोरोना सङ्क्रमण चुनौतीपूर्ण यो अवस्थामा सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न महासंघले सबै सञ्चारकर्मीलाई आग्रह गरेको छ ।–रासस