गत सोमबार विश्वको सर्वाधिक गर्मी दिन

बुधबार, असार २०, २०८०

काठमाडौं । गत सोमवार विश्वको सबैभन्दा गर्मी दिन भएको अमेरिकी मौसमविद्हरूले बताएका छन् । अमेरिकाका सरकारी वैज्ञानिकहरूले विश्वको औसत तापक्रम १७ डिग्री सेल्सियसभन्दा माथि पुगेको बताएका हुन् । उनीहरूले नयाँ कीर्तिमान १९औँ शताब्दीको अन्त्यसम्मको कुनै पनि उपकरणमा अभिलेख गरिएको सबैभन्दा उच्च रहेको बताएका छन् । सोमबारको तापमानले यसअघि सन् २०१६ मा कायम भएको सर्वाधिक तापमानको कीर्तिमान तोडेको छ ।
चीन, उत्तर अफ्रिका र दक्षिण अमेरिकामा हालै चलेको गर्मीको लहरबाट अवस्था प्रभावित भएको छ। अनुसन्धाताहरूले जलवायु परिवर्तन प्राकृतिक जलवायु अवस्था एल निन्योको सुरुवातसँग सम्बन्धित भएको ठानेका छन् । कतिपयले उक्त जलवायु अवस्था र मानवजातिले निरन्तर गरिरहेको कार्बन डाइअक्साइड उत्सर्जनको संयोजनले तातो बढाएको बताएका छन् ।

इम्पेरियल कलेज लन्डनका एक जना वैज्ञानिक फ्रेड्रिक ओटोले विश्व तापमानको नयाँ अवस्थालाई मानिस र पारिस्थितिक प्रणालीका लागि मृत्युदण्डको सजाय रहेको बताए । गत महिना विश्वमा हालसम्मकै सबैभन्दा गर्मी जून महिना भएको पनि पुष्टि गरिएको छ।

तापमानको वृद्धि कति ?
जुलाई ३ तारिखमा विश्वको औसत तापक्रम १७.०१ डिग्री सेल्सियस पुगेको यूएस न्याश्नल सेन्टर्स फर इन्भाइरोमेन्टल प्रेडिक्सनका वैज्ञानिकहरूले बताएका छन् । यसले अगस्ट २०१६ मा १६.९२ डिग्री सेल्सियससहित विगतमा कायम कीर्तिमान तोडेको उनीहरूको भनाइ छ । यस वर्षको सुरुवातदेखि नै अनुसन्धानकर्ताहरू जमिन र समुद्रमा बढ्दो तापक्रमलाई लिएर चिन्तित छन् । स्पेन र एशियाका धेरै देशहरूमा वसन्त ऋतुमा अधिक गर्मी बढेको घटनापछि उत्तरी सागरजस्ता स्थानहरूमा समुद्री उष्ण लहरको घटनाक्रम देखिएका छन्। उल्लिखित स्थानहरूमा सामान्यतया मौसम त्यस्तो हुँदैन थियो । यसै साता चीनमा ३५ डिग्री सेल्सियस भन्दा माथिको तापमानसहित उष्ण लहर चल्यो। त्यस्तै दक्षिणी अमेरिका पनि गर्मी चर्किएको छ । सन् १९७९ मा भूउपग्रहमार्फत् अनुगमनको अभिलेख राख्न सुरु भएयता सोमवारको तापक्रम सबैभन्दा उच्च हो । धेरैले यसमा पूर्वी प्रशान्त महासागरको तापक्रममा निर्भर एल निन्योको असरतर्फ सङ्केत गरेका छन् । द एल निन्यो सदर्न असिलेशन वा ईएनएसओ भनिने जलवायु प्रणालीका तीन फरक चरणहरू छन्( तातो, चिसो वा तटस्थ। यो पृथ्वीको कुनै कुनाको जलवायु प्रणालीमा हुने सबैभन्दा शक्तिशाली उतारचढाव हो ।
‘हामीसँग भरपर्दो अभिलेखहरू उपलब्ध भएयता पहिलो पटक विश्वव्यापी सतहको वायुको तापमान १७ डिग्री सेल्सियससम्म पुगेको छ। यो संसारका लागि एउटा महत्त्वपूर्ण प्रतीकात्मक कोशेढुङ्गा हो’, जलवायु अनुसन्धाता लियोन सिमोन्सले भने ।
‘अब एल निन्योको तातो चरण सुरु हुँदैछ । अबको एक डेढ वर्षमा तापमानको प्राय सबै दैनिक, मासिक र वार्षिक कीर्तिमानहरू तोडिने आशा गर्न सक्छौँ ।’ सन् १८५० र १९०० बीचको अवधिमा पूरा पृथ्वीको तापमान औसत १।४६ डिग्री सेल्सियस थियो । यूकेमा पनि गत महिना सबैभन्दा गर्मी जून कायम भएको छ भने त्यहाँका मानिसले तापमान वृद्धिको प्रभावको चरम अवस्था भोगिरहेका छन् ।

चीनमा सर्वसाधारण

युक्रेनको भेर्नाडस्की रिसर्च बेसमा लिइएको विवरणका अनुसार अन्टार्कटिकामा ८।७ डिग्री सेल्सियससहित जुलाईको तापमान कीर्तिमान तोडिएको छ ।

वैज्ञानिकहरूले गर्मी बढ्दै जाँदा र एल निन्योको प्रभाव थपिँदै जाँदा यसअघि कायम थप कीर्तिमानहरू तोडिने विश्वास गरेका छन् ।

एन निन्यो हाल पूर्ण रूपमा सक्रिय रहेकाले जुलाई र अगस्ट महिना थप न्यानो हुने वैज्ञानिकहरूले बताएका छन्। यद्यपि उनीहरूका अनुसार पृथ्वीको दक्षिणी गोलार्धको तापमान आगामी केही दिनमा अलिकति घट्ने सम्भावना छ।

नेपालमा स्थिति कस्तो ?
नेपालमा मौसमसम्बन्धी पूर्वानुमान गर्ने जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष बर्खायामको चार महिनाको अवधिमा सरदर पानी कम पर्ने र गर्मी बढी हुने अनुमान गरिएको छ ।

विभागले मे ४ तारिखमा सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार जूनदेखि सेप्टेम्बरसम्मको चार महिनाको अवधिमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम धेरैजसो भूभागमा सरदरभन्दा बढी नै हुनसक्ने देखिएको हो । नयाँ तथ्याङ्क अनुसार विवरण राख्न थालिएयता सन् २०२२ अति गर्मी भएको वर्षमा पाँचौँ स्थानमा पर्छ । ला निन्या भनिने अर्को जलवायु प्रणालीका कारण सन् २०२३ अझ बढी गर्मी हुनसक्ने भन्दै वैज्ञानिकहरूले चेतावनी दिएका थिए । विश्वव्यापी तापक्रम घटाउँदै आएको ला निन्या अवस्थाको अन्त्य हुन लागेका कारण चिन्ता बढेको हो ।
त्यही पूर्वानुमान नेपालको हकमा पनि गरिएका कारण हामी पनि सचेत हुनुपर्ने मौसमविद्हरू बताउँछन् ।


एल निन्यो र ला निन्याको अवस्था सामान्यतया दुईदेखि सात वर्षमा देखापर्छ र धेरैजसो ९ देखि १२ महिनासम्म रहन्छ । ला निन्याको अवस्था एल निन्योभन्दा कम देखापर्छ । एल निन्यो र ला निन्याले निम्त्याउने मौसमको चरम अवस्थाका कारण विश्वभरि नै भौतिक संरचना, खाद्यान्न र ऊर्जा प्रणालीमा असर गर्छ । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनका अनुसार एल निन्योका कारण क्यानडा र एशियामा सन् २०१४ देखि २०१६ सम्ममा भएको खडेरीका कारण ६ करोडभन्दा बढी मानिसको खाद्य सुरक्षामा असर गरेको थियो।–बीबीसी 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार