बेलायतमा कोरोना खोप प्रयोग सुरु

मंगलबार, मंसिर २३, २०७७

उत्तरी आयरलयान्डकी ९० वर्षीया महिला विश्वमै कोरोना खोप लगाउने ‘पहिलो’ व्यक्ति

लन्डन । बेलायतमा मंगलबारदेखि आममानिसमा कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको छ । अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले संयुक्त रुपमा विकास गरेको खोप पहिलो चरणमा बेलायतभरका ५० अस्पतालबाट दिन सुरु गरिएको हो । 
बीबीसीका अनुसार उत्तरी आयरल्यान्डकी ९० वर्षीया महिलालाई पहिलो कोरोना खोप दिइएको हो । कोभेन्ट्रीमा रहेको युनिभर्सिटी हस्पिटलमा ९० वर्षीया मार्गरेट कीननलाई पहिलो पटक कोरोना खोप दिइएको हो । कीननले कोरोना खोप लिन पाउँदा आफू भाग्यमानी महसुस भएको बताएकी छन् ।
कोरोनाविरुद्धको खोप लगाएपछि प्रतिक्रिया दिँदै अर्को हप्ताबाट ९१ वर्षमा प्रवेश गर्दै गरेकी कीननले भनिन् ‘कोभिड–१९ विरुद्ध खोप लगाउने पहिलो व्यक्ति बन्न पाउनु नै मेरा लागि जन्मदिनको विशेष उपहार हो ।’ 
उनले नयाँ वर्ष परिवार र साथीहरुसँग मनाउन चाहेको पनि बताएकी छिन् । मंगलबार कोरोनाविरुद्धको पहिलो डोजको खोप लगाएकी कीननले दोस्रो डोज २१ दिनपछि लगाउनेछिन् ।
स्कटल्यान्ड र वेल्सले पनि मंगलबारदेखि खोप वितरण सुरु गरेका छन् । बेलायतमा पहिलो चरणमा आउँदो सातासम्म ८ लाख डोज भ्याक्सिन दिइने छ । खोप लगाएका प्रत्येक मानिसलाई खोप कार्ड उपलब्ध गराइने भएको छ । स्वास्थमन्त्री म्याट हेनककले ट्वीट गर्दै सबै क्षेत्रमा खोप पुगिसकेको जनाएका छन् ।
अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य कर्मचारी, ८० वर्ष नाघेका वृद्धवृद्धा र केयर होमका कामदार खोपको पहिलो प्राथमिकतामा छन् । राष्ट्रिय स्वास्थ्य सेवा, इंग्ल्यान्डका मेडिकल डाइरेक्टर प्रोफेसर स्टेफेन पोविसले यो बेलायतकै इतिहासमा जटिल र बृहत् खोप अभियान भएको बताए ।
एनएचएस इंग्ल्याण्डका प्रमुख कार्यकारी सर साइमन स्टेभेन्सले खोप अभियान कोरोना भाइरसविरुद्धको लडाईंमा निर्णायक मोड भएको प्रतिक्रिया दिँदै आगामी वसन्त ऋतुसम्म खोप कार्यक्रम जारी रहने र यो बेला मानिसलाई धेरै होसियार रहन सुझाएका छन् ।
फाइजर र बायोएनटेकले विकास गरेको उक्त खोप बेल्जियमबाट बेलायतसम्म ढुवानीका लागि बेलायती सेनाको सहयोगसमेत लिने सरकारको योजना छ । विदेशमन्त्री जेम्स क्लेभर्लीले सो जानकारी दिएका हुन् ।
परीक्षणका क्रममा ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको यो खोप बेलायतले २ करोड मानिसलाई पुग्ने गरी ४ करोड डोज अर्डर गरेको छ । २१ दिनको अन्तरमा दुई डोज दिइनेछ । क्रोयडन युनिभर्सिटी हस्पिटलका क्लिनिकल अडिट विभाग प्रमुख डा. सुरजमणि पौडेलले आफ्नो अस्पतालमा बिहान ७ बजेदेखि खोप लगाउन सुरु भएको जानकारी दिए । फाइजर, बायोएनटेक खोप प्राप्त गर्ने उक्त अस्पताल विश्वकै पहिलो हो । ती खोपका कन्टेनर स्पेसल फ्रिजरमा राखिएको छ ।
क्रोयडन नेपाली समाजका अध्यक्ष पौडेल आफ्ना करिब ७० प्रतिशत सदस्य फ्रन्टलाइन हेल्थ वर्कर भएकाले नेपाली समुदाय पनि यसबाट लाभान्वित हुने बताउँछन् ।
बेलायती महारानी एलिजावेथ द्वितीय समेत कोभिड खोप लिने तयारीमा रहेको बताइएको छ । ९४ वर्षीया महारानी र उनका ९९ वर्षीय पति प्रिन्स फिलिप पहिलो चरणमै खोप लिनेहरुको ‘वेइटिङ लिस्ट’ मा रहेको बेलायती मिडियाले जनाएका छन् ।
सरकारले पहिलो चरणमै खोप पाउनेको प्राथमिकतामा राखेको ८० वर्ष माथिको उमेर समूहअन्तर्गत उनीहरुलाई खोप दिइने भएको हो । तर, महारानीका लागि कुनै छुट्टै विशेष व्यवस्था नगरिने भएकाले उनले आफ्नो पालो पर्खिएरै खोप लिने बताइएको छ ।
बेलायतले विश्वमै पहिलोपटक उक्त खोपलाई अनुमति दिएको थियो जुन कोभिडबाट बचाउन ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ । तर माइनस ७० डिग्री चिसोमा राख्नुपर्ने भएकाले ओसारपसार र व्यवस्थापनमा यो अलिक चुनौतीपूर्ण रहेको स्वास्थविद्हरुको राय छ ।

बेलायतले फाइजर र बायोएनटेकको ४ करोड बाहेक अक्सफोर्ड र एस्ट्राजेनेकाको १० करोड, नोभाभ्याक्सको ६ करोड, भल्नेभाको ६ करोड, जिएसके र सानोफी पाश्चरको ६ करोड, जानसेनको ३ करोड र मोडेर्नाको ७० लाख डोज अर्डर गरिसकेको छ ।
बेलायतको बर्मिङघम विश्वविद्यालयमा औषधि विज्ञानका सहप्राध्यापक डा. विभु पौड्याल चीन र भारतमा उत्पादन भएका खोप नेपाल ल्याउन सहज हुने बताउँछन् । नेपालका लक्षित वर्गमा कोभिड भ्याक्सिन पुरयाउन अझै ७, ८ महिना लाग्न सक्ने डा. पौड्यालको अनुमान छ । खोप वितरणमा निजी क्षेत्रलाई समेत सहभागी गराउन सके सरकारलाई सहज हुने उनको सुझाव छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  १३:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार