नेपालले थप दुई खेल खेल्ने

शनिबार, असार ९, २०८०

काठमाडौं । नेपालले जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा समूह चरणबाटै बाहिरिए पनि थप दुई खेल खेल्न पाउने भएको छ । नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदै सुपर सिक्समा स्थान बनाउन नसकेपनि नेपालले प्लेअफमा दुई खेल खेल्नेछ ।
प्लेअफ ७ देखि १० औं स्थानको लागि हुनेछ । प्लेअफमा समूह ए को चौथो स्थानमा रहने टोलीले समूह बी को पुछारको टोलीसँग खेल्नेछ । समूह ए को पुछारमा रहने टोलीले समूह बी को चौथो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
यी दुई खेलको विजेता टोली ७ औं स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् । पराजित हुने टोलीले नवौं स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् । त्यसैले नेपालले प्लेअफमा दुई खेल खेल्ने भएकोछ । प्लेअफको खेलहरु ३० जुलाई देखी ६ जुलाईसम्म हुनेछ । नेपालले अव एक साता विश्राम गर्नेछ ।
समूह ए मा नेपाल ४ खेलमा ३ मा हार १ मा जितकासाथ २ अंक जोड्दै चौथो स्थानमा रहेर बाहिरियो । नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । जिम्बावेसँग ८ विकेट, वेस्ट इन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको हो ।
अमेरिका ३ खेलमा हारका साथ अंक विहीन हुँदै पुछारमा छ । अमेरिकाले अन्तिम खेलमा सोमबार जिम्बावेसँग खेल्नेछ । यदि उक्त खेलमा अमेरिका विजयी भएको खण्डमा नेपाल नेटरनरेटको कारण पुछारमा पुग्नेछ । अमेरिका पराजित भएमा नेपाल चौथो स्थानमा रहेर प्लेअफ खेल्नेछ । अमेरिकाको नेटरनरेट माइनस ०.७८९ छ । नेपालको माइनस १.१७१ छ ।
समूह ए बाट वेस्टइन्डिज, जिम्बावे र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन् । समूह बीबाट भने सुपर सिक्स पुग्ने तीन टोलीको टुङ्गो लागेको छैन । युएई सुरुवाती तीन खेलमा हारको साथ बाहिरिएको छ । अन्य चार मध्य तीन टोली सुपर सिक्समा पुग्नेछन् ।
श्रीलंका २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । स्कटल्यान्ड पनि २ खेलमा ४ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ । ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ । आयरल्यान्ड सुरुवाती दुई खेलमा हारका साथ अंक विहीन हुँदै चौथो स्थानमा छ ।
‘सर्ट बलविरुद्ध योजना थियो, सफल भएनौं’ 
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आइसीसी विश्वकप छनोटको अन्तिम लिग खेलमा नेदरल्यान्ड्सविरुद्ध हार बेहोरेपछि सर्ट बलविरुद्ध टोलीको योजना सफल हुन नसकेको बताएका छन् ।
नेदरल्यान्ड्सविरुद्ध शनिबार ७ विकेटको हार बेहोरेसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना सकिएको हो । यससँगै नेपालले सन् २०२३ मै भारतमा हुने विश्वकप नखेल्ने पनि पक्का भएको छ । वेस्टइन्डिज विरुद्ध निकै संघर्ष गरेको सर्ट बलको समस्या आज पनि नेपाली टोलीका लागि घातक बन्यो ।
कप्तान रोहितले सर्ट बलका लागि योजना बनाएको भएपनि त्यसमा सफल हुन सकेको बताए । ‘हामीले सर्ट बल कसरी खेल्ने योजना बनाएका थियौं । तर त्यसमा सफल हुन सकेनौं । अब आजको गल्तीबाट सिकेर अन्य खेलमा राम्रो प्रदर्शन गर्नेछौं,’ उनले भने ।
नेपालले अब प्रतियोगिताको सातौं देखि दशौं स्थान निर्धारणका लागि आफ्नो समूहको अमेरिका र अर्को समूहको पुछारको दुई टोलीसँग खेल्नेछ । कप्तान रोहितले विश्वकप छनोटको अनुभव टोलीका लागि निकै महत्त्वपूर्ण रहेको बताए ।
‘हाम्रो लागि विश्वकप छनोटको अनुभव नै निकै महत्त्वपूर्ण थियो । धेरै सिक्ने अवसर पायौं । राम्रो टोलीको सामना गर्न पायौं । अब प्लेअफको खेलमा राम्रो प्रदर्शन गर्नेछौं,’ उनले थपे ।

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १९:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार