सुपर सिक्समा पुग्ने निर्णायक खेलमा नेपालको ब्याटिङ नल्चदा नेदरल्यान्ड्सलाई मध्यमस्तरको लक्ष्य

शनिबार, असार ९, २०८०

काठमाडौं । ब्याटिङ नचल्दा नेपालले आइसिसी विश्वकप छनोटमा सुपर सिक्समा पुग्न निर्णायक मानिएको खेलमा नेदरल्यान्ड्सलाई १ सय ६८ रनको मध्यम लक्ष्य दिएको छ । जिम्बावेको ताकाशिंगा स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४४।३ ओभरमा १ सय ६७ रनमा अल आउट भयो ।
नेपालका कप्तान रोहित पौडेलले ५५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३३ रनको योगदान दिए । अन्तिम विकेटको रुपमा आउट भएका सन्दीपले ३३ बलमा ४ चौकासहित २७ रन बनाए ।
अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेदरल्यान्ड्सको शर्ट बल सामु नेपाली ब्याटर निरिह जस्तै बनेपछि जित्नै पर्ने खेलमा खराब ब्याटिङ गरेको हो । नेपालले ओपनर आसिफ शेखलाई सुरुवातमै शून्यमा गुमाएको थियो । तीव्र गतिका बलर लोगन भान बिकको तेस्रो ओभरको दोस्रो बलमा आसिफ इन साइट एज लागेर बोल्ड हुन पुगे ।
कुशल भुर्तेल ४२ बलमा २ चौकासहित २७ रनमा आउट भए । तीव्र गतिका बलर विक्रमजित सिंहको १४ औं ओभरको पाँचौं बलमा कट खेल्ने धुनमा कुशल विकेटकिपर स्कर्ट एड्वार्ड्सबाट समातिन पुगे । कुशल आउट हुँदा नेपाल १४।५ ओभरमा ४६–२ को अवस्थामा थियो । कुशल र भीमले दोस्रो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । त्यो नै नेपाली ब्याटरले गरेको उच्च साझेदारी बन्यो ।

विक्रमजितकै बलमा आरिफ शेख ६ रनमा बिकबाट क्याच हुँदै पेभेलिएन फके । भीम सार्की ५६ बलमा १ चौकासहित २२ रनमा क्याच आउट भए । भीम स्पिनर क्लेटन फ्लोयडको अफ साइटको बलमा शरिज अहमदबाट क्याच आउट भएका थिए । भीम आउट हुँदा नेपाल १८।१ ओभरमा ६६–४ को अवस्थामा पुगेको थियो ।
पाँचौं विकेटका लागि रोहित र कुशल मल्लले २५ रनको साझेदारी गरेका थिए । कुशल मल्ल स्पिनर आर्यन दत्तको २६ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा मिड अनमा तेजा निडामानुरुले १२ रनमा उत्कृष्ट क्याच लिए । उनले १९ बलमा १ छक्का प्रहार गरे ।
कप्तान रोहित पौडेल पुन सर्ट बलमा आउट भए । तीव्र गतिका बलर भान बीकको ३२ औं ओभरको पाँचौं बलमा सट बलमा पुल खेल्ने धुनमा मिडविकेटमा विक्रमजित सिंहबाट क्याच आउट भए । भान बिकै शट बलमा दीपेन्द्र एज लागेर विकेटकिपरबाट १४ रनमा क्याच आउट भए ।
आठौं विकेटका लागि गुलशन र सन्दीपले ३२ रनको साझेदारी गरेका थिए । गुलशन बास डि लिडेको बलमा विकेटकिपर स्कटबाटै आउट भए । गुलशनले ३१ बलमा १५ रन बनाए । लिडे कै बलमा करण एक रनमा आउट भए ।
नेदरल्यान्ड्सका तीव्र गतिका बलर लोगन भान बीकले ९।३ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ४ विकेट लिए । बास डि लिडे र बिक्रमजित सिंहले समान दुई विकेट लिए ।
नेपाललाई समूह ए बाट शीर्ष तीनमा रहँदै सुपर सिक्समा पुग्न यस खेल जित्नै पर्ने हुन्छ । नेपाल पराजित भएको खण्डमा भने समूह चरणबाटै बाहिरिने पक्का हुनेछ । नेपाल विजयी हुँदैमा सुपर सिक्समा पुग्न सक्दैन । उता नेदरल्यान्ड्स अन्तिम खेलमा सोमबार वेस्ट इन्डिजसँग पराजित पनि हुनुपर्छ । तर नेपालले कमजोर ब्याटिङको साथ जितको झिनो आशा मात्रै कायम राखेको छ ।

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार