नेपाल भोलि नेदरल्याण्ड्ससँग भिड्दैै, सुपर सिक्समा पुग्न जित्नै पर्ने दबाब

शुक्रबार, असार ८, २०८०

काठमाडौँ । आइसीसी विश्वकप छनोट-२०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भोलि नेदरल्यान्ड्ससँग खेल्दैछ ।  जिम्बाबेको हरारे स्पोर्ट्स क्लबको मैदानमा हुने खेलमा नेपाल जीतको लक्ष्यसहित नेदरल्यान्ड्ससँग भिड्दैछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार दिउँसो १२ः४५ बजे हुनेछ । प्रतियोगिताको सुपर सिक्समा पुग्ने सम्भावना जीवितै राख्नका लागि नेपाललाई नेदरल्यान्ड्सविरुद्धको खेल जित्नैपर्ने हुन्छ । 
एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र नेदरल्यान्ड्स हालसम्म दुई पटक भिडे्का छन् । दुवै टोलीले समान एकरएक जीत हासिल गरेका छन् । 
जारी प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । अमेरिका लगातार तीन खेलमा पराजित हुँदै सुपरसिक्सको सम्भावनाबाट बाहिरिएको छ । त्यसैगरी जिम्बावे र वेस्ट इन्डिज प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै सुपर सिक्समा स्थान करिब सुनिश्चित गरिसकेका छन् । 
अब समूह ‘ए’ बाट तेस्रो टोलीको रुपमा नेपाल र नेदरल्यान्ड्समध्ये एक सुपर सिक्समा प्रवेश गर्नेछन् । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो ।
नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बाबेसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । यससँगै तीन खेलपछि नेपालको  दुई अङ्क छ भने दुई खेलेको नेदरल्यान्ड्सको पनि समान दुई अङ्क नै छ । नेपाल अङ्क तालिकाको चौथो स्थान र  नेदरल्यान्ड्स तेस्रो स्थानमा छ ।

एकदिवसीय विश्वकप छनोटमा श्रीलङ्काको जित
आइसिसी एकदिवसीय विश्वकप छनोटमा श्रीलङ्काले ओमानलाई पराजित गरेको छ ।  जिम्बाब्वेको बुलवायोस्थित क्विन्स स्पोर्ट्स क्लबमा आज भएको समूह बी को खेलमा श्रीलङ्काले ओमानलाई १० विकेटले पराजित गरेको हो । आमानले दिएको ९९ रनको चुनौतीलाई श्रीलङ्काले १५ ओभरमा बिना विकेट पूरा गर्‍यो । 
श्रीलङ्काका लागि दिमुथ करुणारत्नेले सर्वाधिक ६१ रनको योगदान दिए । उनले ६१ बल खेल्दै आठ चौका बनाए । त्यस्तै पथुम निस्साङकले ३९ बलमा पाँच चौकाको सहयोगमा ३७ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ३० दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ९८ रनमा समेटिएको थियो । ओमानका लागि आयान खानले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ६० बल खेल्दै चार चौकाको मद्दतमा ४१ रनको योगदान दिएका हुन् । 
यसैगरी ओमानका जतिन्दर सिंहले २१ तथा फयाज बुट्टले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । ओमानलाई सस्तैमा समेट्ने क्रममा श्रीलङ्काका वानिन्दु हसरङ्ग एक्लैले पाँच विकेट लिए भने लाहिर कुमाराले तीन विकेट लिए । त्यस्तै कसुन रजितले एक विकेट झारे । 
यस जितसँगै लगातार दोस्रो जित दर्ता गराएको श्रीलङ्काले चार अङ्क जोडेको छ । श्रीलङ्काले पहिलो खेलमा युएईलाई हराएको थियो । तीन खेल खेलको ओमानको पनि समान चार अङ्क नै रहेको छ । यसअघि ओमानले आयरल्यान्ड र युएईलाई पराजित गरेको थियो । 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १९:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार