अलिकति राम्रो खेलेको भए नेपाल जित्न सक्थ्यो : वेस्टइन्डिज कप्तान होप

शुक्रबार, असार ८, २०८०

काठमाडौं । आइसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको खेलमा नेपाललाई हराएपछि वेस्टइन्डिजका कप्तान शाइ होपले नेपाली टोलीको प्रशंसा गरेका छन् ।
प्लेयर अफ द म्याच समेत चुनिएका होपले खेलमा शतक प्रहार गरेका थिए । उनलाई अर्का शतकधारी निकोलस पुरनले राम्रो साथ दिए । नेपालविरुद्ध कमजोर सुरुवात गरेपनि पुरनसँग उत्कृष्ट साझेदारी गर्दै टोलीलाई जिताएका होपले नेपालले राम्रो खेलेको प्रतिक्रिया दिए ।
‘हामीले पहिलो पटक नेपालको सामना गरेका हौं । तर आज नेपालले राम्रो क्रिकेट खेल्यो । आजको दिनमा राम्रो क्रिकेट खेल्न जरुरी थियो । र अलिकति राम्रो खेलेको भए आज उनीहरु विजयी हुने सम्भावना पनि थियो । उनीहरुको प्रयासको प्रशंसा गर्न चाहन्छु । र आफ्नो टोलीको जितमा खुसी पनि छु,’ होपले भने
नेपालका अधिकांश ब्याटरले सर्ट बलविरुद्ध खेल्न निकै संघर्ष गरेका थिए । कप्तान होपले नेपाली ब्याटरलाई दबाबमा राख्न सर्ट बल प्रयोग गर्ने योजना बुनेको पनि स्वीकारे । ‘हामीलाई सुरुवातमा विकेट चाहिने थियो । विशेषगरी ओपनरलाई दबाबमा राख्न हामीले सर्ट बल प्रयोग गरेका थियौं,’ उनले प्रष्ट पारे ।
यस्तै होपले आउने खेलमा आफ्नो टोलीको फिल्डीङमा पनि सुधार गर्नुपर्ने बताए । नेपालविरुद्ध कमजोर फिल्डीङले टोलीको कमजोरी थाहा भएको र त्यसलाई सुधार गर्नु आवश्यक रहेको उनले बताए ।
 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  ०५:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार