सोसल मिडिया
Contact Us
युनिकोड
चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडा चोरी शिकार गरेको आरोपमा चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको छ । पछिल्लोपटक सोही मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी अदालत पेश गरिएको निकुञ्जका सूचना अधिकारी लेकेन्द्र अधिकारीले जानकारी दिए ।उनका अनुसार पक्राउ पर्नेमा धादिङका ४५ वर्षीय राजकुमार श्रेष्ठ भनिने कविराज श्रेष्ठ रहेका छन् । उनलाई यही वैशाख २३ गते चितवनको कविलासबाट पक्राउ गरिएको उहाँले जानकारी दिए । पक्राउ गरिएका उनलाई जिल्ला अदालत पेश गरिएको र अदालतले रु दुई लाख ५० हजार धरौटीमा छाडेको उनले बताए । यसअघि विभिन्न समयमा पक्राउ गरिएका २३ जनालाई निकुञ्जले गत माघ २९ गते सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएकामध्ये २० जनालाई चालु आर्थिक वर्षमा चार गैँडा मारेको अभियोग लागेको छ । यही वैशाख २३ गते पक्राउ परेका श्रेष्ठलाई पनि सोही अभियोग लागेको हो । अन्य तीनजना अघिल्ला आर्थिक वर्षका मुद्दामा फरार रहेका अभियुक्त रहेको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा मारिएका गैँडाका मुद्दामा संलग्न २१ जनामध्ये अदालतले सात जनालाई धरौटी माग गरेको थियो भने अन्यलाई पुर्पक्षका लागि अदालत पठाइएको थियो । पुराना मुद्दामा फरार रहेका तीन जनालाई पनि फैसला कार्यान्वयनका लागि अदालतबाट कारागार पठाइएको उहाँले बताउनुभयो । निकुञ्जमा चालु आवमा प्राकृतिक कारणले २६ र चोरी शिकारीले चार गैँडा मारेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।
बाघको आक्रमणबाट एक घाइते पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा राप्ती नगरपालिका–६ का ३३ वर्षीय उमेश राई रहेका छन् । उनलाई बाघले यही वैशाख २४ गते भैँसी चराउने क्रममा प्यारीढाप भन्ने स्थानमा आक्रमण गरेको थियो । आक्रमणबाट घाइते भएका राईलाई राति १०ः२५ बजे पुरानो मेडिकल कलेजमा ल्याई उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते राईको अवस्था मध्यम रहेको छ ।–रासस