इरान आणविक सम्झौतामा अमेरिकालाई फर्काउने उच्चस्तरीय वार्ता सुरु

सफल नतिजा आउने विश्वास
शनिबार, वैशाख २५, २०७८

भियना । विश्व शक्ति राष्ट्रहरूले इरानसँगको आणविक सम्झौताबारे अष्ट्रियाको राजधानी भियनामा चौथो चरणको वार्ता शुरू गरेका छन् । शुक्रबार सुरू भएको वार्तामा अमेरिका र इरान दुबैले समाधान सम्भब भएको जनाएपछि संयुक्त राज्य अमेरिकालाई इरानसँगको आणविक सम्झौतामा फिर्ता ल्याउने लक्ष्य राखिएको यो वार्ता सफल हुने विश्वास लिइएको छ ।  सन् २०१५ मा अमेरिकाको अग्रसरतामा विश्व शक्ति राष्ट्रहरूले इरानसँग गरेको महत्वपूर्ण आणविक सम्झौताले अमेरिकालाई कुनै हित नगर्ने भन्दै बाराक ओबामा अमेरिकी राष्ट्रपति रहेका समय गरेको सम्झौताबाट तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताबाट पछि हट्ने निर्णय लिएका थिए । तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता पुनःगर्नु आवश्यक रहेको भन्दै इरानमाथि सन् २०१५ भन्दा पहिले लगाइएका प्रतिबन्धहरूलाई पुनः लगाएका थिए ।  सम्झौताले इरानलाई आफ्नो आणविक कार्यक्रममा लगाइएको प्रतिबन्धको बदलामा आर्थिक प्रोत्साहनको प्रतिज्ञा गरेको थियो । ट्रम्प प्रशासनले तेहरानलाई नयाँ वार्तामा ल्याउने असफल प्रयासमा इस्लामिक गणतन्त्रमाथि ठूलो प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धले अहिलेसम्म निरन्तरता पाएको छ । अमेरिका सम्झौताबाट फिर्ता भएको बताएपछि इरानले पनि सम्झौताबाट क्रमशः पछि हटेको थियो । देशलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने उद्देश्यले गरिएको सम्झौताबाट फिर्ता हुँदै युरेनियम प्रशोधन तथा उत्पादनलाई अझ व्यापकता दिने काम इरानले गर्दै आएको छ । यसले आर्थिक राहतका लागि फ्रान्स, बेलायत, रसिया र चीनसहितका सम्झौतामा रहेका विश्वशक्तिहरुलाई पनि दबाब दियो । 

सङ्केत
अमेरिकी राष्ट्रपति जो बाइडनले एक संयुक्त बृहत्तर योजनामार्फत अमेरिका सम्झौतामा पुनः सामिल हुन चाहेको बताएका छन् । सम्झौताका लागि इरानले सम्झौतामा तोकिएका मापदण्डलाई अक्षरश पालना गर्नुपर्ने आवश्यक रहेको बाइडनको धारणा छ । इरानले पनि आणविक बम उत्पादन गर्न नचाहेको बताएको छ तर यसका लगि वाशिङ्गटनले आणविक सम्झौता बाहेकका ट्रम्पको कार्यकालमा लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउनुपर्ने बताएको छ ।  वार्ता अगाडि एक वरिष्ठ अमेरिकी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा अमेरिकी स्थितिबारे छलफल गर्न वाशिङ्गटन तयार रहेको र इरान पनि सहमतिहरू स्वीकार्ने राजनीतिक निर्णय गर्नुपर्ने बताए । उक्त अधिकारीले अप्रिलको सुरुमा सुरु भएको वार्ताको चौथो चरणले सफलता हासिल गर्ने हो कि भनेर भविष्यवाणी गर्न अस्वीकार गरेका छन् । तर इरानको जूनको राष्ट्रपति चुनाव अघि कुनै सम्झौतामा पुग्न सम्भव रहेको उनले बताए ।  अधिकारीले भने, ‘दुबै पक्षले के गर्नुपर्छ भन्ने कुराको रूपरेखा स्पष्ट छ । हामीलाई लाग्छे परिणामलाई परीक्षण पहिले बताउन नसकिने यो रकेट विज्ञान होइन ।’ अमेरिकी अधिकारीका अनुसार सफलता इरानले सन् २०१५ मा गरिएको मूल सम्झौताको शर्तमा हकदार भएभन्दा बढी माग नगर्नेमा निर्भर गर्दछ । वार्तामा इरानका प्रतिनिधि, उप विदेश मन्त्री अब्बास अरघाचीले बिहीबार इरानको सरकारी समाचार संस्था, आइआरएनएसँग भने । उनी नेतृत्वको टोलीले चाँडोभन्दा चाँडो कुनै सम्झौतामा पुग्न खोजिरहेको इरानको राष्ट्रिय हितमा कार्य गर्ने तर हतारमा कदम नचाल्ने बताएको छ ।  उनले भने, ‘सौभाग्यवश सम्झौता हामीमाँझ छन् । मैले पहिले भनेझैं हामी सम्झौताले निर्दिष्ट गरेको बाटोमा छौं । तर त्यहाँ इमान्दार भएर नबढेको खण्डमा गम्भीर अवरोधहरू पनि आउन सक्छन् ।’  वार्तालाई ध्यानमा राख्दै रूसी प्रतिनिधि मीखाईल उल्यानोभले ट्वीट गर्दै भनेका छन्, ‘इरानी मन्त्रीको भनाइबाट सकारात्मक संकेत दखिएको छ । भियना वार्तामा रहेका इरानी प्रतिनिधिमण्डलका प्रमुखले अमेरिकी प्रतिनिधिमण्डलको मूल्याङ्कनसँग मिल्दोजुल्दो धारणा राखेका छन् । दुबै मुलुक इरान र अमेरिका निराशावादी धारणाबाट टाढा रहेका छन् । यो क्षणले खराब संकेत जस्तो देखिदैन ।’–एपी 
 

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १३:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार