कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह

शनिबार, वैशाख २५, २०७८

काठमाडौंं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड–१९ विरुद्धको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गरेका छन् । नेपालस्थित राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग गरेको टेलिफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठनबाट पाइने कोभ्याक्सअन्तर्गतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।  ‘भाइरसको फैलावट रोक्ने एउटै मात्र उपाय भनेको खोप हो, त्यसकारण नेपालले कोभ्याक्सअन्तर्गत प्राप्त गर्ने खोपमा संयुक्त राष्ट्र संघको सहजीकरणको अपेक्षा गरेको छ’, उपप्रधानमन्त्री पोखरेलले आग्रह गरेका छन्, ‘यसका साथै भेन्लिटेलर, पिपिई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्तिलगायत विषयमा नेपाल सहयोग चाहन्छ ।’ नेपालीलाई खोप सुविधा उपलब्ध गराउन नेपाल सरकारले कूटनीतिक पहल गरिरहेको उपप्रधानमन्त्री पोखरेलले जानकारी दिए । उपप्रधानमन्त्री पोखरेलले भने, ‘कोरोनाविरुद्धको खोप विश्वकै नागरिकको सार्वजनिक चासोको वस्तु हो भन्ने हामी विश्वास गर्छाँै, खोप कुन देशको हो भन्ने कुराले मानवीय ऐक्यबद्धतालाई असर गर्नुहुँदैन ।’
जवाफमा  संयोजक  न्यान्तीले आफ्नातर्फबाट खोप ल्याउन सक्दो सहयोग गरिने प्रतिबद्धता जनाए । उनले सहयोगका लागि आवश्यक छलफल गर्न छिट्टै उपप्रधानमन्त्री पोखरेललाई भेट्ने चाहना पनि व्यक्त गरेको उपप्रधानमन्त्रीका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिए ।  कोभ्याक्सअन्तर्गत नेपालले २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिशिल्ड खोप पाउनुपर्नेमा अहिलेसम्म तीन लाख ४८ हजार मात्र मात्र प्राप्त गरेको छ । नेपाल सरकारले खरीद गरेको २० लाखमध्ये १० लाख मात्रा नेपाल आइसकेको तथा बाँकी १० लाख मात्र  अझै आउन बाँकी छ । यसैगरी भारत सरकारबाट १० लाख, भारतीय सेनामार्फत नेपाली सेनालाई एक लाख र चीनबाट आठ लाख मात्रा खोप नेपालले प्राप्त गरेको छ । 

खोप प्राप्त गर्न कूटनीतिक प्रयास 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड –१९ को खोप प्राप्त गर्नका लागि कूटनीतिक प्रयास भइरहेको जनाएको छ ।  मन्त्रालयले सरकारले खरीद गरेको खोप आउने क्रममा रहेको जनाउँदै कूटनीतिक र अन्य माध्यमबाट  समेत खोप ल्याउने प्रयास भइरहेको जानकारी दिएको छ ।  मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आज विज्ञप्ति जारी गर्दै ‘कोभिशिल्ड’ खोप खरीदका सम्बन्धमा आएका समाचारमा कुनै सत्यता नभएको जनाउँदै विश्वको अहिलेको विषय परिस्थिति र ‘कोभिशिल्ड’ उत्पादक भारतको सेरम इन्स्टिच्युट अफ इण्डियाले कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले आपूर्तिमा समस्या भएको जानकारी दिएको बताए ।  उनले क्षमता विस्तार हुनेबित्तिकै नेपालले खरीद गरेको १० लाख मात्रा खोप आउने जानकारी दिए । नेपालले उक्त कम्पनीसंँग २० लाख मात्रा खोप खरीदका लागि सम्झौता गरे पनि १० लाख मात्रा मात्र नेपाल आएको छ । सो खोप प्रतिमात्रा चार डलरका दरले खरीद गरिएको थियो ।  विज्ञप्तिमा उनले नेपालले हाल ५० लाख मात्रा ‘कोभिशिल्ड’ खोप खरीद गर्ने अवस्था ह नरहेको समेत जनाएका छन् ।  दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा भारतपछि नेपालले खोप अभियान शुरु गरेको थियो ।  डा.गौतमका अनुसार नेपालमा अहिलेसम्म २० लाख ९१ हजार ५११ जनाले पहिलो र तीन लाख ६२ हजार एक जनाले पहिलो र दोस्रो मात्राको खोप लगाइसकेका छन् ।–रासस
 

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  ११:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार