अक्सिजनको चरम अभाव : स्वास्थ्यकर्मी बिरामीलाई टुलुटुलु हेर्न विवश !

शनिबार, वैशाख २५, २०७८

रूपन्देही । लुम्बिनी प्रदेशमा अक्सिजनको चरम अभाव भएपछि बिरामीका उपचारमा समस्या भएको छ । कोरोना सङ्क्रमितको उपचारमा खपत बढेपछि प्रदेशका सबै अस्पतालमा अक्सिजनको अभाव भएको हो । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवामा रहेको भीम अस्पताल, नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पताल लगायतका अस्पतालमा अक्सिनको अभावले नयाँ बिरामी भर्ना लिइएको छैन ।  अस्पतालमा अक्सिजन सकिएपछि डाक्टरले सामाजिक सञ्जालमार्फत सहयोगका लागि अपिल गरेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट डा राजेन्द्र खनालले  एक हप्तादेखि नै कोरोनाका बिरामीको चाप अस्पतालले थेग्न गाह्रो भएकाले सहयोगका लागि आग्रह गर्दै आएका छन् । सामाजिक सजालमार्फत उनले भनेका छन्, ‘मध्यरातमा डा नन्दु पाठक र डा राजेन्द्र खनाल अक्सिजन खोज्न हिँडेपछि हालत के होला ? बिरामीहरूको अवस्थालाई टुलुटुलु हेरेर नर्स र डाक्टरले केही गर्न नसकिने यो कस्तो विवशता ! अब त एकोहोरो टोलाउन मात्र बाँकि छ ।’  उनले अक्सिजनको अभाव यथावत रहे अस्पतालमा उपचाररत बिरामीको ज्यान बचाउन कठिन हुने बताए । अक्सिजन अभाव भएपछि अस्पतालमा उपचाररत केही बिरामीको अवस्था हेरेर बिना अक्सिजन समेत राखिएको थियो । ‘अभाव छ भनेर राती दुई बजेदखि हाम्रो बिरामीको अक्सिजन निकालीयो मैले रातभर धेरै जनालाई फोन गरेर अक्सिजनका लागि आग्रह गरे कतैबाट व्यवस्था हुन सकेन त्यसपछि हामीले आशा मारेका थियौँ तर बिहान स्वास्थ्यकर्मीले आफैँ अक्सिजन दिन शुरु गरे’, कपिलवस्तुका कोरोना सङक्रमित बिरामीका आफन्तले गुनासो गरेका छन् । 
नेपालगञ्जको एचओ अक्सिजनले अस्पतालमा अक्सिजनको आपूर्ती गरिरहेको भएपनि मागअनुसार हुन सकेको छैन ।  बिरामीको चाप भएकाले लुम्बिनी अस्पताल र कोरोना विशेष अस्पतालमा गरी दैनिक करिब चारसय सिलिन्डर खपत हुँदै आएको सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । अस्पतालकै अक्सिजन प्लान्टबाट दैनिक २० वटा सिलिन्डरको व्यवस्थापन हुने गरेको र अन्य सिलिन्डर बाहिरबाट आपूर्ति भएको उनले बताए । ‘पहिले ५०÷६० वटा सिलिन्डर एकैपटक आपूर्ति गथ्र्यौँ तर अहीले १५ वटा सिलिन्डर खाली हुने वित्तिकै अक्सिजन खोज्न हिँड्नुपर्ने अवस्था छ’, उनले भन् । अस्पतालमा अहिले करिब डेढ सय बिरामी उपचाररत छन् । अस्पतालले निरन्तर अक्सिजन आपूर्ती गर्न सक्ने सप्लायर्सको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको छ । अस्पतलमा फिवर क्लिनिकमा सात, कोरोना विशेष अस्पतालमा  अक्सिजन जडित शय्या (एचडियु) ३६ वटा  तथा १५ वटा सघन उपचार कक्ष (आइसियु) शय्या छन् । यी बाहेक बेञ्च तथा भूईंमै राखेर पनि अकिसजनको सहायतामा कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । अक्सिजन अभावकै कारण अस्पतालले क्षमता विस्तार गरी बिरामीलाई सेवा दिन सकेका छैनन् । यसका कारण कोरोनाका बिरामीले अस्पतालमा श्यया नपाएकै कारण घरमै ज्यान गुमाउनु परेको छ । अस्पतालमा श्यया खोज्दाखोज्दै बुटवल उपमहानगरपालिका–७ का एक वडासदस्यको बिहीबार राति मृत्यु भएको छ । चौवालीस वर्षीय उनी सात दिनअघि कोरोना पोजिटिभ भएपनि अस्पतालमा श्यया  अभावका कारण होम आइसोलेशनमा रहेका थिए ।  तीन दिनअघि श्यया खोज्दै अस्पताल पुगेका उनले अस्पतालमा ठाउँ नपाएपछि घरमै अक्सिजन लिएर आएका थिए । बिहीबार समस्या बढेपछि बुटवल तथा भैरहवाका कुनै पनि अस्पतालमा सघन उपचार कक्ष नपाउँदा ज्यान गुमाउनु परेको हो । यस्तै भैरहवाको भीम अस्पतालस्थित कोरोना विशेष अस्पतालमा पनि बिरामीले श्यया भरिएका छन् । कोभिडका लागि छुट्याइएको २७ वटा श्यया सहित आकस्मिक कक्ष र अन्य स्थानमा गरी  ६८ जनाको बिरामीको अक्सिजनको सहायताले उपचार भइरहेको छ । अक्सिजन पर्याप्त नभएका कारण थप बिरामी भर्ना गर्न नसकिएको अस्पतालका सूचना अधिकारी डा नारायण पोख्रेलले जानकारी दिनुभयो ।  भीम अस्पतालका लागि जिल्लाका दुई ग्यास उद्योगले अक्सिजन आपूर्ति गर्दै आएका छन् । अस्पतालमा दैनिक दुई सय सिलिण्डर खपत हुने गरे पनि पर्याप्त नभएपछि चाहेर पनि बिरामी भर्ना लिन नसकिएको सूचना अधिकारी पोख्रेलले बताए । अक्सिजनको अभावकै कारण नेपालगञ्ज मेडिकल कलेजलाई नयाँ बिरामी भर्ना लिन समस्या भएको छ । अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क, पिएसए अक्सिजन प्लान्ट, अक्सिजन सिलिण्डरबाट बिरामीहरूको उपचार गर्दै आएकोमा सबैभन्दा भरपर्दो लिक्विड अक्सिजन ट्याङ्क सकिएको र भारतबाट समेत नआएकाले उपचाररत बिरामी बाहेक अन्यलाई भर्ना गर्न नसकिएको प्रवन्ध सञ्चालक डा. सुरेशकुमार कनोडियाले जानकारी दिए । हाल अस्पतालले एक सय ३५ कोभिड श्यया कोरोना सङ्क्रमित बिरामीहरूको उपचार गरिरहेको छ । सङ्क्रमित विरामीको चाँपसँगै तीन सय शययाको कोभिड विशेष अस्पताल सञ्चालनको तयारी गरेको मेडिकल कलेजले अक्सिजनको अभावकै कारण सञ्चालन गर्न नसकिएको जनाएको छ । अस्पतालका अनुसार, अहिले बिरामीको चाँप बढी भएकाले हरेक पाँच दिनमा लिक्विड अक्सिजन ट्याङ्क अथवा दैनिक आठ सय अक्सिजन सिलिन्डर आवश्यक पर्छ । अहिले बाँकेमा कोरोना सङ्क्रमित बिरामीहरूको उपचार पालिकाहरूले बनाएका आइसोलशन बाहेक नेपालगन्ज स्थित भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर र नेपालगञ्जस्थित शिक्षण अस्पतालमा भइरहेको छ । प्रदेशका सबै अस्पतालमा अक्सिजन अभाव भएपछि सरकारले भारतबाट लक्विड अक्सिजन आपूर्ति गर्ने तयारी गरेको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  ११:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार