सगरमाथा आरोहणमा स्वास्थ्य जोखिम छैन : पर्यटन मन्त्रालय

शनिबार, वैशाख २५, २०७८

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आधार शिविरमा कुनैपनि स्वास्थ्य जोखिम नरहेको जनाएको छ । वसन्त यामको जारी सगरमाथा आरोहणमा संलग्न केही आरोहीमा कोभिड–१९ सङ्क्रमण देखिएको भन्दै प्रकाशित समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै  मन्त्रलायले विज्ञप्ति प्रकाशित गर्दै प्रचार गरिएजस्तो सगरमाथामा कुनै जोखिम नरहेको स्पष्ट पारेको हो ।  नेपालका केही तथा विदेशी सञ्चारमाध्यमले सगरमाथा आधार शिविरमा कोरोना फैलिएको भन्दै पछिल्ला दिनमा समाचार प्रकाशन–प्रसारण गरेका थिए । वसन्त यामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका र सबै आरोही समूहले सगरमाथासहितका पर्वतारोहण सम्बन्धी क्रियाकलाप सम्भव भएसम्म स्वास्थ्य मापदण्डहरु पालना गर्दै आरोहण अभ्यास गरिरहेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘पर्यटन विभागले हरेक आरोही दलको आरोहण गतिविधि, घटना र महत्वपूर्ण समाचारका लागि हरेक समूहका लागि एक÷एक सम्पर्क अधिकृत खटाइएको छ । उनीहरुले आरोहण दलका नेताको सम्पर्कबाट प्राप्त सूचना तथा स्थलगत अनुगमनको आधारमा पर्वतारोहीको स्वास्थ्य स्थितिका सम्बन्धमा यकिन गरिने हुँदा हालसम्म प्रचार गरिएजस्तो स्वास्थ्य जोखिम भएको जानकारी प्राप्त भएको छैन ।’ आधिकारीक निकायबाट कुनै जानकारी प्राप्त नभएको अवस्थामा सरकारी निकायसँग समन्वय र सम्पर्क नगरी भ्रमपूर्ण र पर्वतारोही, पर्वतारोहीका परिवारमा त्रास फैलाउने गरी अपुष्ट सूचना प्रकाशन नगर्न तथा आधिकारिक निकायबाट प्रमाणित सूचना मात्रै प्रकाशित गर्न मन्त्रालयले सम्बन्धित सबैमा अनुरोध पनि गरेको छ । प्रतिकूल अवस्थामा रहेका पर्वतारोही र पदयात्रीलाई उद्धार गरी सुरक्षित गन्तव्यमा पुरयाइ आवश्यक व्यवस्थापन गर्न पर्यटन मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा कोभिड सङ्कट सहजिकरण एवम् समन्वय एकाइ गठन गरिएको मन्त्रालयले जनाएको छ । शुक्रबार सगरमाथा आधारशिविरबाट फर्केका दुई विदेशीसहित १२ जनामा कोरोना भाइरस संक्रमण देखिएको समाचार सार्वजनिक भएको थियो ।  वसन्त यामको सगरमाथा आरोहण शुक्रबार साँझ कीर्तिमानी कामीरिता शेर्पा नेतृत्वको १२ जना शेर्पा समूहले रोप फिक्सिङ (सगरमाथामाको चुचुरोमा डोरी टाँग्ने) गरेपछि औपचारिक  रुपमा व्यवसायिक आरोहण शुरु भएको विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।  यस पटकको आरोहणमा कामीरिताले यसअघिको आफ्नै कीर्तिमान तोडेर सगरमाथाको २५ औँ पटक आरोहणको विश्वकीर्तिमान कायम गर्नुभएको छ ।–रासस 
 

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १०:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार