सामाजिक काम बन्यो कोरोना संक्रमणको ‘हट स्पट’ 

विवाह भोजमा सहभागी बागुलङका २५ मा कोरोना सङ्क्रमण 
शनिबार, वैशाख २५, २०७८

गलकोट । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाका २५ जनामा शुक्रबार एकैसाथ कोरोना पुष्टि भएको छ । उनीहरू सबै विवाह भोजमा सहभागी रहेको पाइएको छ । सङ्क्रमति भएका अधिकांश केही दिनअगाडि सोही गाउँमा भएको एक विवाह समारोहमा सहभागी भएका थिए । गाउँमा कोरोना सङ्क्रमणको शङ्कास्पद बिरामी बढ्न थालेपछि गाउँपालिकाले पिसिआर परीक्षण गरेको थियो । बिहीबार गाउँका २९ जनाको स्वाब परीक्षण गरिएकामा शुक्रबार २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।  यति धेरै जनामा सङ्क्रमण देखिनु स्थानीयवासीको हेलचक्र्याइँ रहेको  गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चूडामणि कँडेलले जानकारी दिए । गाउँपालिकामा सङ्क्रमण तीव्र गतिमा फैलिएको हुँदा थप सतर्कता अपनाउनु पर्ने कँडेलको भनाइ छ । गाउँभर सङ्क्रमण फैलिएपछि रोकथामका लागि आफूहरू लागि रहेको उनको भनाइ छ । गाउँमा सरकारले निर्देशन गरेको स्वास्थ्य मापदण्ड पालनालाई बेवास्ता गर्दा अस्वाभाविकरूपमा सङ्क्रमणको दर बढेको कँडेल बताउँछन् । जलजला गाउँसँगै अन्य गाउँमा पनि सङ्क्रमणको जोखिम बढेको भन्दै उनले सबैतिर परीक्षण शुरु गरेको बताउनुभयो । संक्रमणको व्यवस्थापनका लागि गाउँपालिकाले आइसोलेशन तथा अन्य व्यवस्थापनलाई तीव्रता दिएको छ । विवाह भोजमा सहभागी भएका दुलाहा पक्षका आफन्त तथा अन्य गाउँका अधिकांश मानिस बिरामी परेको वडाध्यक्ष प्रेम गलामी मगरले जानकारी दिए । उनले गाउँमा पछिल्लो समय बाहिरबाट आवतजावत बढी भएको र विवाहलगायतका कार्यक्रम नियमित हुँदा जोखिम बढेको बताए ।  ‘अहिले सङ्क्रमित भएकाहरू अधिकांश विवाहमा सहभागी भएका छन्, केही उनीहरूसँग सम्पर्कमा रहेका छन्’, उनले भने, ‘पछिल्लो समय गाउँमा भिडभाड हुने खालका गतिविधि भएको र त्यहीँबाटै कोरोना फैलिएको भन्ने लाग्छ, गाउँमा अरु पनि धेरै बिरामी पर्नुभएको छ तर अवस्था सबैको सामान्य छ ।’ गाउँ कोरोना सङ्क्रमणको उच्च जोखिममा परेपछि केही दिनका लागि गाउँ नै सिल गरिएको छ । सङ्क्रमित सबैको अवस्था सामान्य भएकाले होम आइसोलेशनमै राखिएको अध्यक्ष मगरको भनाइ छ । गाउँमा सङ्क्रमण बढ्दै गएपछि स्थानीयवासीमा त्रास छाएको छ । अहिले सङ्क्रमितहरूलाई ज्वरो आउने तथा रुघा खोकीलगायतका लक्षण देखिएको छ । केही दिनअगाडि गाउँमा भएको विवाह समारोहमा जलजला गाउँसँगै अन्य विभिन्न स्थानबाट पनि मानिसहरू सहभागी भएको बताइएको छ । उक्त विवाहमा करिब ४०० सहभागी भएको स्थानीयवासीको भनाइ छ । विवाहमा सहभागी भएका ८७ वर्षीय वृद्धाको बिहीबार धौलागिरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि गाउँमा थप त्रास फैलिएको छ ।–रासस
 

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  ०७:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार