चार्ल्स तृतीयले पहिरिए राजमुकुट

शनिबार, वैशाख २३, २०८०

लण्डन । चार्ल्स तृतीयले वेस्टमिन्स्टर एबीमा आयोजित विशेष समारोहबीच राजमुकुट पहिरिएका छन् । आर्चविशपले सेन्ट एड्वर्ड्ज् क्राउन राजाको शिरमा राखिदिएका हुन् ।
जीवनमा यही एक पटक उनले ‘सेन्ट एड्वर्ड्ज क्राउन’ भनिने राजमुकुट पहिरिने छन् । यो राजमुकुट पहिरिने राजा चार्ल्स तृतीय सातौँ शासक हुन् ।
यसअघि चार्ल्स द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जोर्ज पञ्चम, जोर्ज छैटौँ अनि एलिजाबेथ द्वितीयाले यो मुकुट पहिरिएका थिए ।
उक्त राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले उनको राज्याभिषेकमा पहिरिएकी थिइन् । सोही समारोहमा आर्चविशपले रानी कमिलालाई ‘क्वीन मेरीज् क्राउन’ पहिर्‍याइदिए ।
उक्त मुकुट पहिले जोर्ज पञ्चमको राज्याभिषेकका बेला रानी मेरीका निम्ति बनाइएको थियो ।

रानी कमिला
वेस्टमिन्स्टर एबीमा विम्बहरूले भरिएको र सङ्गीतमय प्रस्तुतिमाझ राज्याभिषेकको विस्तृत समारोहमा त्यसअघि चार्ल्स तृतीयले राजाका दायित्व पूरा गर्ने शपथ लिएका थिए ।
समारोहमा मुस्लिम, यहुदी, सिख र बौद्ध समुदायका प्रतिनिधिहरू सहभागी थिए जहाँ बाइबलको एक अंश वाचन गर्ने प्रधानमन्त्री ऋषि सुनक हिन्दू हुन् ।
पत्नी रानी कमिलाका साथ उनी बकिङ्घम दरबारबाट उक्त समारोहका लागि निस्कँदा सेन्ट्रल लन्डनका सडकमा मानिसहरूको भिडले स्वागत गरेको थियो ।
राज्याभिषेक परेड हेर्ने आशामा अनुकूल स्थान सुनिश्चित गर्नका लागि मानिसहरू रातदेखि नै कुरेर बसेका थिए ।
वेस्टमिन्स्टर एबीमा करिब २ घण्टा लामो राज्याभिषेक समारोहपछि उनीहरू पहिले आएकै मार्गबाट बकिङ्घम दरबारतर्फ फर्किए ।

राजा चार्ल्स

बाल्कोनीबाट अभिवादन
राजा(रानी शाही परिवारका वरिष्ठ सदस्यहरूसहित बकिङ्घम दरबारको बाल्कोनीमा उभिएर सडकमा जम्मा भएका हजारौँ मानिसहरूलाई हात हल्लाएका थिए ।
जहाँ प्रिन्स र प्रिन्सेस अफ वेल्स तथा उनीहरूका छोराछोरी उपस्थित थिए । राजकुमारी एन र राजुकुमार एडवार्ड समेत त्यहाँ उपस्थित भए तापनि राजकुमार ह्यारी भने देखिएनन् । सीएनएनका अनुसार बाल्कोनीमा परिवारसाथ उपस्थित हुनका लागि ह्यारीले निम्तो पाएका थिएनन् ।
ड्युक अफ ससिक्सकी श्रीमती मेगन र उनका दुई सन्तान राज्याभिषेक समारोहका लागि यूके नै आएका थिएनन् । राज्याभिषेककै दिन ह्यारीका छोरा आर्चीको चौथो जन्मदिन परेको छ ।
त्यहाँ भेला भएका मानिसहरूलाई अभिवादन गर्ने क्रममा फ्लाई पास्टको आयोजना समेत गरिएको थियो ।
सन् १९०२ मा राजा एड्वर्ड सप्तमको पालादेखि द मलमा रहेका मानिसहरूलाई त्यसरी अभिवादन गर्ने परम्परा छ ।

लन्डन

समारोहको बीचबीचमा राजाले नै रोजेका सङ्गीत बजेका थिए जसमा नयाँ बनाइएका १२ वटा धुन समावेश थिए ।
राज्याभिषेकको भव्य शाही समारोह संसारभरिबाट निम्त्याइएका अतिथिहरू सहभागी छन्।
यसअघि शनिवार विहान रेलमार्फत् लन्डनको वाटरलु स्टेसन पुगेका सशस्त्र सैन्य बलका हजारौँ सदस्य शनिवारको समारोहमा सहभागी हुन बकिङ्घम दरबारतर्फ गएका थिए ।
विश्वनेता र राजपरिवारका सदस्यहरूसहित दुई हजारभन्दा धेरैलाई राज्याभिषेक समारोहका लागि निम्त्याइएको छ । मनोरञ्जन जगत्‌का व्यक्तिहरू समेत अतिथिका रूपमा सहभागी छन् ।
यूकेका प्रधानमन्त्री ऋषि सुनक र देशका सातजना पूर्वप्रधानमन्त्रीहरू समारोहमा सहभागी छन् ।

राजपरिवार
यूकेका प्रधानमन्त्री ऋषि सुनकले शनिवारको दिन "अभूतपूर्व राष्ट्रिय गौरवको क्षण" भएको र "हाम्रो देशको आधुनिक चरित्रको जीवन्त प्रदर्शन" भएको बताएका छन् ।
उनले ट्वीटमार्फत् भनेका छन, "कुनै अर्को देशले यस्तो चमकदार प्रस्तुति गर्न सक्दैन। तर यो प्रदर्शनी मात्र होइन। यो हाम्रो इतिहास, संस्कृति र परम्पराको गौरवपूर्ण अभिव्यक्ति हो ।"

योजनाबद्ध रूपमा तय गरिएको सप्ताहान्तका विशेष कार्यक्रमहरूमा सडक पार्टीहरू र आइतवार विन्डसर कासलमा हुने कन्सर्ट समेत समावेश छ । सोमवार देशव्यापी रूपमा स्वयंसेवी कार्यक्रमहरू हुँदैछन् ।
शनिवारको समारोहबीच राजतन्त्रविरोधी समूहहरूले विरोध प्रदर्शनहरू समेत गरेका थिए ।-बीबीसी

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  २०:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार