अटो बन्यो एम्बुलेन्स 

शुक्रबार, वैशाख २४, २०७८

टिस्टुङ । समुदायस्तरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको थाहा नगरपालिकाले नगरमा सञ्चालित अटोरिक्सालाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ ।  नगरपालिकामा रहेका एम्बुलेसले धान्न नसक्ने अवस्था आउन सक्ने सम्भावना देखेर बिरामी बोक्ने विकल्पका रूपमा अटो प्रयोग गर्ने निष्कर्षमा पुगेको नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीले बताए । ‘हाल नगरपालिकाभित्र छ वटा एम्बुलेन्स सञ्चालनमा छन्, नगरमा कोरोना सङ्क्रमणको दर बढ्दै गएकाले यहाँ सञ्चालित अटोहरूलाई पनि तयारी अवस्थामा राख्न लागिएको छ’, उपप्रमुख गोपालीले भने । समयमै एम्बुलेन्स पाउने अवस्था नहुन सक्ने र जारी निषेधाज्ञाका कारण यातायातका अन्य साधन नपाउने स्थिति भएपछि प्रत्येक वडामा अटोको प्रयोग गर्न लागिएको उनको भनाइ छ । नगरपालिकाले नगरस्थित अटो व्यवसायी सङ्घसँग प्रत्येक वडामा एउटा अटोलाई चौबिसै घण्टा तयारी अवस्थामा राख्नेगरी सहमति गरेको नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए । सामान्यतया ती अटोले वडाबाट नगरभित्रको स्वास्थ्य संस्थासम्म बिरामी पु¥याउनेछन् । त्यसरी प्रयोग हुने अटोका चालक पछाडिको भागमा प्लास्टिकले बारेर सुरक्षित बनाइनेछ ।  बिरामी बोक्न प्रयोग नभएको अवस्थामा ती अटोलाई अत्यावश्यक सामान ढुवानीमा समेत प्रयोग गर्न सकिने गरी सहमति भएको नगरपालिकाका सूचना अधिकारी भुजेलले बताए ।  
नगरमा वडा नं ३ मा २३ र ४ मा ११ जनासहित हाल ८० व्यक्ति कोरोना सङ्क्रमित छन् । उनीहरूमध्ये ७६ जना ‘होम आइसोलेशन’ मा रहेका छन् भने चार जनालाई विभिन्न अस्पतालमा ‘रिफर’ गरिएको छ ।–रासस
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  २०:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार