सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालमा गत २४ घण्टामा थप थप ९,१९६ जना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो अहिलेसम्म पुष्टि भएको सर्वाधिक दैनिक वृद्धि संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप ५० जनाको कोभिड–१९ सम्बन्धी कारणले मृत्यु भएको छ । हालसम्म कुल ३,५७९ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । यो अवधिमा २,९०५ जना सङ्क्रमण मुक्त भएका छन् । काठमाडौं उपत्यकामा सर्वाधिक संख्यामा सङ्क्रमित फेला पर्ने क्रम जारी छ । रूपन्देहीमा पनि ठूलो संख्यामा सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार अपराहनसम्म देशभरि ७८ हजार ६२९ जना पुष्टि भएका सक्रिय सङ्क्रमित छन् । तीमध्ये ५,८६० जना संस्थागत आइशोलेशनमा र बाँकी सबै घरमै बसिरहेका छन् । अस्पतालमा रहेकामध्ये ७२८ जना आईसीयूमा र २३१ जना भेन्टिलेटरमा उपचाररत छन् । पीसीआर विधिसहित एन्टिजन विधिबाट परीक्षण गर्दा त्यति संख्यामा सङ्क्रमितहरू फेला परेका हुन् । कुल २०,४८२ जनाको परीक्षण गर्दा त्यति संख्यामा सङ्क्रमण पुष्टि भएको हो । शुक्रबार काठमाडौं जिल्लामा ३,०८९ जना, ललितपुर जिल्लामा ६४३ र भक्तपुरमा ३७४ जनामा कोभिड पुष्टि भएको छ । त्यसैगरी झापामा २१६, मोरङमा २७३, चितवनमा ३४३, कास्कीमा ३९३, दाङमा ३६६, बाँकेमा २२२ र रूपन्देहीमा ७३० जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । सरकारले सोमबार ७,४४८ जनामा सङ्क्रमण र ३७ जनाको मृत्यु, मङ्गलबार ७,६६० जनामा सङ्क्रमण र ५५ जनाको मृत्यु, बुधवार ८,६५९ जनामा सङ्क्रमण र ५७ जनाको मृत्यु एवं बिहीबार नौ हजार जनामा कोरोनाभाइरस सङ्क्रमण र ५४ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको थियो ।
२२ जिल्लामा ५०० भन्दा बढी हाल २२ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । वाग्मती प्रदेशका आठ, लुम्बिनी प्रदेशमा छ, प्रदेश नं १ का तीन र अन्य चार प्रदेशका एक–एक जिल्लामा अहिले उच्च संख्यामा सक्रिय सङ्क्रमित रहेका हुन् । थप २१ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । शुक्रवार पुष्टि भएको सङ्क्रमितहरूमध्ये २०४ जना १० वर्षभन्दा मुनिका, ६०० जना १० देखि १९ वर्षका र ४,४०१ जना २० देखि ३९ वर्षका छन् । त्यस्तै ४० देखि ४९ वर्षका १ लाख ५७ हजार ३५० देखि ५९ वर्षका १ हजार १९९ र ७० वर्षभन्दा माथिका ३६६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौंमा धेरै सक्रिय सङ्क्रमित मन्त्रालयका अनुसार अहिले काठमाडौं उपत्यकामा तीन जिल्लामा कुल ३४,६०० जनाभन्दा केही बढी पुष्टि भएका सक्रिय सङ्क्रमित छन् । उपत्यकामा भएका सक्रिय सङ्क्रमितको संख्या देशभरि भएका सङ्क्रमितको कुल संख्याको ४४ प्रतिशत हो । राजधानी उपत्यकामा अहिलेसम्म १,२१४ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । यो देशभरि कोभिड–१९ का कारण मृत्यु हुनेको कुल संख्याको एकतिहाइ हो । कोभिड–१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ ।
के छ भारतको स्थिति ? भारत सरकारले शुक्रवार प्रकाशित गरेको तथ्याङ्कअनुसार २४ घण्टाको अवधिमा ४ लाख १४ हजार जना कोरोना भाइरस संक्रमण देखा परेको छ । यो अहिलेसम्मकै कोभिड–१९ सर्वाधिक संख्या हो । उक्त अवधिमा ३ हजार ९१५ जनाको कोभिडसँग सम्बन्धित कारणले मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । भारतमा हाल ३६ लाख ४५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । कुल सङ्क्रमण संख्या भने दुई करोड १४ लाख नाघेको छ । तीमध्ये दुई लाख ३४ हजारभन्दा बढीको मृत्यु भएको छ ।