कोभिडका कारण भारतमा एकै दिन झण्डै चार हजारको मृत्यु 

चार लाख १२ हजार सङ्क्रमित  
बिहीबार, वैशाख २३, २०७८

नयाँदिल्ली । कोरोनाभाइरस महामारीका कारण भारतमा बुधबार झण्डै चार हजारको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ९८० जनाको मृत्यु भएको हो । योसँगै भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या दुई लाख ३० हजार १६८ पुगेको छ । भारतमा पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको पाइएको छ ।  केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा देशभरी गरेर कुल चार लाख १२ हजार २६२ जना सङ्क्रमित भएको जानकारी दिएको छ । 
एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।   भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल दुई करोड १० लाख ७७ हजार ४१० जना सङ्क्रमित भएका छन् ।  पछिल्लो २४ घण्टामा भारतमा तीन लाख २९ हजार ११३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या एक करोड ७२ लाख ८० हजार ८४४ पुगेको छ ।  भारतमा अहिले पनि ३५ लाख ६६ हजार ३९८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भइरहेकै अवस्थामा रहेका छन् ।  भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार यही मे ५ तारिखसम्ममा भारतमा २९ करोड ६७ लाख ७५ हजार २०९ कोभिडको नमुना परीक्षण गरिएको छ । ती मध्ये १९ लाख २३ हजार १३१ जनाको बुधबार परीक्षण गरिएको हो ।  भारतमा अहिलेसम्म १६ करोड २५ लाख १३ हजार ३३९ मात्राको कोरोनाभाइरसविरुद्धको खोप प्रयोग भएको मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाको परीक्षण र खोप अभियान एकातिर चलिरहेको छ भने अर्कोतिर कोरोनाभाइरसबाट सङ्क्रमित भएका र मृत्यु भएकाहरुको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दो छ । विश्व स्वास्थ्य संगठनका अनुसार, बिहीबारसम्म विश्वभर कोभिड–१९ को संक्रमणबाट ३२ लाख ५७ हजार व्यक्तिको मृत्यु भइसकेको छ । विश्वभर झण्डै १५ करोड ५९ लाख व्यक्ति कोभिड संक्रमित भएकामध्ये १३ करोड ३३ लाख संक्रमणमुक्त भएका छन् ।  कोभिड–१९ को सर्वाधिक असर परेका राष्ट्रहरुमध्ये संयुक्तराज्य अमेरिकामा ५ लाख ९३ हजार, ब्राजिलमा ४ लाख १४ हजार, भारतमा २ लाख ३० हजार, मेक्सिकोमा २ लाख १८ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २२ हजार, रसियामा एक लाख १२ हजार, फ्रान्समा एक लाख पाँच हजारको मृत्यु भएको छ ।– एएनआई
 

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  २१:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार