थप नौ हजार जनामा कोरोना भाइरस संक्रमण, ५४ जनाको मृत्यु

बिहीबार, वैशाख २३, २०७८

काठमाडौं । नेपालमा गत २४ घण्टामा थप नौ हजार जनाभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।  अहिले पनि काठमाडौं उपत्यकामा सर्वाधिक संख्यामा सङ्क्रमितको फेला पर्ने क्रम जारी छ । रूपन्देहीमा ठूलो संख्यामा संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्म पुष्टि भएको सर्वाधिक दैनिक वृद्धि संख्या हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा थप ५४ जनाको कोभिड–१९ सम्बन्धी कारणले मृत्यु भएको छ । सरकारको तथ्याङ्कअनुसार बिहीवार अपराह्नसम्म देशभर ७२,५६१ जना पुष्टि भएका सक्रिय संक्रमित छन् । अहिले पीसीआर विधिसहित एन्टिजन विधिबाट परीक्षण गर्दा त्यति संख्यामा संक्रमितहरू फेला परेका हुन् । कुल २१,१४२ जनाको परीक्षण गर्दा त्यति संख्यामा सङ्क्रमण पुष्टि भएको हो । यो अवधिमा २,७०७ जना सङ्क्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार अहिले काठमाडौं जिल्लामा ३,१६३ जना, ललितपुर जिल्लामा ५६७ र भक्तपुरमा २४२ जनामा कोभिड पुष्टि भएको हो ।  त्यसैगरी मोरङमा २५५, कास्कीमा ३७५, दाङमा २४६, बाँकेमा ३९८, रूपन्देहीमा १,०६९ तथा सुर्खेतमा २०६ जनामा पनि सङ्क्रमण पुष्टि भयो । सरकारले सोमवार ७,४४८ जनामा सङ्क्रमण र ३७ जनाको मृत्यु, मङ्गलबार ७,६६० जनामा सङ्क्रमण र ५५ जनाको मृत्यु र बुधबार ८,६५९ जनामा सङ्क्रमण र ५७ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । तीमध्ये ५,३१५ जना संस्थागत आइशोलेशनमा र बाँकी सबै घरमै बसिरहेका छन् । जटिल समस्या भएका बिरामीहरूको अस्पतालमा सघन उपचार कक्ष र भेन्टिलेटरमा उपचार भइरहेको छ । केही सातायता नेपालमा परीक्षण गरिएका नमुनामा सङ्क्रमण पुष्टि अनुपात बढ्न थालेको छ ।  मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा अहिले पुष्टि भएका सङ्क्रमितहरू विभिन्न उमेर समूहका देखिन्छन् । तीमध्ये २० वर्षदेखि ४९ वर्षसम्मका मानिसको संख्या सर्वाधिक छ ।

काठमाडौंमा धेरै सक्रिय सङ्क्रमित
मन्त्रालयका अनुसार अहिले काठमाडौं उपत्यकामा तीन जिल्लामा कुल ३२,४०० जनाभन्दा केही बढी पुष्टि भएका सक्रिय सङक्रमित छन् । उपत्यकामा भएका सक्रिय सङ्क्रमितको सङ्ख्या देशभरि भएका सङ्क्रमितको कुल सख्याको ४४.६ प्रतिशत हो । राजधानी उपत्यकामा अहिलेसम्म १,२०४ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको सरकारी तथ्याङ्क छ । यो देशभरि कोभिड–१९ का कारण मृत्यु हुनेको कुल सङ्ख्याको एकतिहाइ हो ।

के छ भारतको स्थिति ?
भारत सरकारले बिहीवार प्रकाशित गरेको तथ्याङ्कअनुसार २४ घण्टाको अवधिमा ४ लाख १२ हजार जनामा अर्थात् अहिलेसम्मकै सर्वाधिक संख्यामा कोभिड–१९ पुष्टि भयो । उक्त अवधिमा ३,९८० जनाको कोभिडसँग सम्बन्धित कारणले मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । उत्तर प्रदेश, हरियाणा, पञ्जाब, तमिलनाडु र कर्नाटकसहित केही राज्यमा बुधवार अहिलेसम्मकै सर्वाधिक दैनिक मृत्यु भयो । 
महामारी फैलिएदेखि धेरै प्रभावित महाराष्ट्र राज्यमा ९२० जनाको कोभिड–१९ का कारण २४ घण्टाको अवधिमा मृत्यु भएको तथ्याङ्क छ । तर विज्ञहरूले परीक्षणको संख्या घटेको तथा मृत्युबारे पूर्ण विवरण प्राप्त नभएकाले आधिकारिकभन्दा वास्तविक संख्या बढी हुन सक्ने औँल्याएका छन् । विश्व स्वास्थ्य सङ्गठनले आफ्नो साप्ताहिक प्रतिवेदनमा गत साता भारतमा फेला परेका सङ्लक्रमितको संख्या विश्वभरि पुष्टि भएका सङ्क्रमितको कुल संख्याको झन्डै आधा र मृतकको संख्या एकचौथाइ उल्लेख गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १९:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार