कर्णाली प्रदेश सरकार फेरि अल्पमतमा

एमाले हिजो सरकारबाट अलग, आज प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
सोमबार, चैत २७, २०७९

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले प्रदेश संसदीय दलका नेता यामलाल कडेँलले प्रदेश प्रमुखलाई पत्र लेख्दै आजदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् । कर्णालीमा माओवादी केन्द्रका नेता राजकुमार शर्मा मुख्यमन्त्री छन् । आइतबार एमालेबाट सरकारमा सहभागी तीनजना मन्त्रीले राजीनामा दिएका थिए । यसअघि १० पुसको समीकरणअनुसार २७ पुसमा माओवादी नेता शर्मालाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ६ माघमा पहिलोपटक विश्वासको मत दिएको थियो ।
यस्तै १७ चैत्रमा दोस्रोपटक पनि एमालेले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएको थियो । चुनावी गठबन्धन ब्यूँतिएसँगै प्रदेशमा पनि सोहीअनुसार लागू गर्नुपर्ने भएकाले पार्टी सरकारबाट अलग भएको एमाले नेताहरुको भनाई छ । प्रदेशमा एमालेका सभामुखसहित १० सांसद छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ ।

 

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १४:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार