रास्वपाका सांसद श्रेष्ठको अडियोमाथि अख्तियारले छानबिन गर्ने

आइतबार, चैत २६, २०७९
मयुर प्लाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ ।
श्रेष्ठले पार्टी सभापति रवि लामिछानेको टिमलाई दिनुपर्ने भन्दै व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो ।
त्यो अडियोसहित सञ्चारमाध्यमहरुमा प्रकाशित समाचार हाम्रो नोटिसमा लिएका छौं । उक्त समाचार उजुरीको रुपमा दर्ता भइसकेको छ’ अख्तियार स्रोतले भन्यो, ‘सम्भवतः भोलि (सोमबार) नै सम्बन्धित महाशाखाका अनुसन्धान अधिकृतलाई अनुसन्धानको जिम्मेवारी तोकिनेछ ।’
सामान्यतयाः अख्तियारले गैरकानूनी लेनदेन, घुस लगायतका उजुरीमा प्रहरी महाशाखा अन्तर्गत जिम्मेवारी तोक्छ । सांसदहरु सार्वजनिक पदमा बसेका व्यक्ति हुन् । सार्वजनिक पदमा बसेकाहरुले पैसा मागेमा त्यसलाई घुसका रुपमा लिइन्छ र यसमा भ्रष्टाचारको आरोप आकर्षित हुन्छ ।
आफूकहाँ आइपुगेका उजुरीहरु केलाउन अख्तियारले सचिवको संयोजकत्वमा सबै महाशाखाका प्रमुखहरु रहेको उजुरी छनौट समिति (स्कृनिङ टिम) गठन गरेको हुन्छ ।

विवादास्पद टेलिफोन संवादबारे सांसद श्रेष्ठलाई रास्वपाले सोध्यो स्पष्टीकरण
राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य डा. ढाकाकुमार श्रेष्ठलाई सञ्चारमाध्यममा सार्वजनिक भएको टेलिफोन संवादबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।
आज प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका महान्त्री एवं प्रवक्ता डा.मुकुल ढकालले छानबिन पूरा नभएसम्म सांसद श्रेष्ठलाई पार्टीको साधारण सदस्यका हैसियतमा काम नगर्ने÷नगराउन निर्देशन दिइएको जानकारी दिएका छन् ।
स्वास्थ्यमन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवादबारे छानबिन गर्न तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको महामन्त्री ढकालले बताए ।

रास्वपा सांसद ढाकाकुमारले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक

यसअघि रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो ।
आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेका हुन् । कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा सांसद श्रेष्ठले आफ्नो दलले स्वास्थ्य मन्त्रालय पाउने भएको र मन्त्री बन्नका लागि नेताहरुले आफूसँग साढे २ करोड मागेको बताएका छन् ।
प्रचण्ड सरकारमा सहभागी रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दाबी गर्दै आएको थियो ।
३ माघमा मन्त्रिपरिषद् विस्तार हुनुअघि भएको यो संवादमा सांसद ढाकाकुमार श्रेष्ठले भनेका छन्, ‘स्वास्थ्य हामीले पाउने भयो, पार्टीलाई सहयोग गर, साढे २ जति चाहियो भन्दै थिए । मेरो पक्का भयो, मैले आज फिक्स गर्नु छ क्या सर !’
उनले अगाडि भनेका छन्, ‘मन्त्री पनि बन्नुपर्‍यो, धोइपखाली गरेर स्वास्थ्य क्षेत्र पूरा सफा पनि गर्नु छ । मैले धेरै गर्छु भनेर सोचेको छु, त्यसमा हजुरहरुको सहयोग पनि चाहियो ।’
सुरुदेखि नै रविलाई सहयोग गर्दै आएको कोर टिमले रकम मागेको सांसद ढाकाकुमारले बताएका छन् । उनले भनेका छन्, ‘रवि सर देखा पर्नुभएको छैन, बाहिरका २र३ जना साथी हुनुहुन्छ । उहाँहरुलाई दिने हो, पार्टीलाई जान्छ भनेका छन् ।’
उनले मेडिकल व्यवसायी प्रसाईंलाई रकम दिए आफूले मिलेर काम गर्ने समेत बताएका थिए ।
ह्वाट्सएपमा भएको भनिएको संवादमा व्यवसायी प्रसाईंले पनि २ करोड सहयोग गर्ने, तर त्यसका लागि केही समय लाग्ने बताएका छन् । ‘तपाईंलाई मैले २ करोड रुपैयाँ दिने ग्यारेन्टी गरें’ प्रसाईंले भनेका छन्, ‘उनीहरुसँग टाइम माग्नुस्, म दिन्छु भन्नुस् ।’
संवादका क्रममा प्रसाईंले तोसिमा कार्कीले लडाईं गर्दिनन् नि भन्ने प्रश्न गरेका छन्, जसमा रास्वपा सांसद ढाकाकुमारले मन्त्री छान्ने जिम्मा रवि लामिछानेलाई दिइसकेका कारण कुनै समस्या नहुने बताएका थिए ।
त्यो बेलामा स्वास्थ्यमन्त्रीका लागि रास्वपामा ढाकाकुमारसँगै डा. चन्दा कार्की र डा. तोसिमा कार्की आकांक्षी थिए । ३ माघमा भएको मन्त्रिपरिषद विस्तारका क्रममा स्वास्थ्य मन्त्रालय एमालेले पायो । स्वास्थ्य राज्यमन्त्री भने रास्वपाकी तोसिमा भइन् ।
यद्यपि २२ माघमै रास्वपाले सरकार छाड्यो । तर त्यसको दुई महिनापछि अडियो सार्वजनिक भएको छ ।
थप अनुसन्धानका लागि प्रहरीमा निवेदन दिने रवि लामिछानेको भनाइ
रास्वपाका सभापति रवि लामिछानेले सांसद डा.ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे छानबिन गर्न आफू स्वयम्ले प्रहरी प्रशासन र  अख्तियारमा निवेदन दिने बताएका छन् ।
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसारमा बारा जिल्लाको गढीमाई मन्दिरमा बोल्दै सभापति लामिछानेले ७२ घण्टाको अल्टिमेटम दिएको र थप अनुसन्धानका लागि प्रहरी र अख्तियारमा निवेदन दिने बताएका हुन् । उनले भने, “पार्टीभित्र छानबिन हुँदैछ, त्यसबीचमा सांसद श्रेष्ठलाई कानुनी कारबाहीमा ल्याउन अनुसन्धानका लागि प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिनेछौ ।”

 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  २१:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार