धरौटीमा छुटे प्रधानमन्त्रीविरुद्ध नारा लगाउने तीन युवा

मंगलबार, चैत १४, २०७९

काठमाडौँ । काठमाडौंको थापागाउँमा आयोजित ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस (२१ मार्च) लाई सम्बोधन गर्न गत चैत ७ गते पुगेका  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीनजना युवा जनही ५ हजार धरौटी बुझाएर छुटेका छन् । 
प्रचण्डविरुद्ध नाराबाजी गर्ने ती युवाविरुद्ध अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइएकोमा जिल्ला प्रशासन कार्यालयले जनही ५–५ हजार रुपैयाँ धरौटी माग गरेको थियो । 
प्रशासनले मागेको धरौटी नतिरेपछि सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का आइतबार जेल चलान भएका थिए । तर उनीहरु मंगलबार प्रशासनमा जनही ५–५ हजार धरौटी बुझाएर डिल्ली बजार जेलबाट रिहा भएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार जिल्ला प्रशासन कार्यालयले मागेको जनही ५ हजार धरौटी तिरेपछि उनीहरू रिहा भएका हुन् । यसअघि धरौटी तिर्न अस्वीकार गरेपछि तीनैजनालाई आइतबार नै डिल्लीबजार चलान गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयले मागेको धरौटी तिर्न अस्वीकार गरेपछि उनीहरु जेल चलान भएका थिए । चैत ७ गते प्रचण्ड उक्त कार्यक्रमका लागि हलमा छिर्नेबित्तिकै यी तीन युवाले नाराबाजी गरेका थिए । प्रचण्डविरुद्ध नाराबाजी गरेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिँदा मुख थुनेको  विषयमा व्यापक आलोचना भएको थियो।
 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १५:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार