बढ्न थाले कोरोना सङ्क्रमित, सोमबार एकै दिन थपिए ६९ जना

मंगलबार, चैत १४, २०७९

काठमाडौँ । पछिल्ला केही दिन यता कोरोना भाइरसको सङ्क्रमणको दर बढ्न थालेको छ । कोरोना भाइरसविरुद्धको खोप लगाउन चाहनेको अनिच्छा तथा स्वास्थ्य सतर्कतामा कमि हुँदा संक्रमितको संख्या बढ्न गएका हुन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार सोमबार एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण पुष्टि भएको छ । हिजो (चैत १२ गते) १६ जना र चैत ९ गते १७ जनामा सङ्क्रमण देखिएको थियो ।
सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा सङ्क्रमण बढिरहेको र खुला सिमानाका कारणले नेपाल सङ्क्रमण भित्रिएको बताए ।
उनका अनुसारसीमा नाकामा कडाइ गर्न निर्देशन दिइसकेका छ ।
अहिले सबभन्दा बढी सङ्क्रमित नेपाल भारतको कैलालीको धनगढीस्थित त्रिनगर नाकाबाट प्रवेश गरिरहेका छन् । भारतको उत्तरप्रदेश सङ्क्रमण बढिरहेको छ । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ ।

भारतबाट फर्किनेमा कोरोना

भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ । सीमा नाकाहरुमा परीक्षण गर्दा भारतबाट स्वदेश फर्किएकाहरुमा सङ्क्रमण देखिन थालेको हो ।  
सुदूरपश्चिमका भारतसँग जोडिएका सबै नाकाहरुमा नियमित रुपमा कोरोना परीक्षणको कार्य जारी रहेको छ । यहाँका सीमा नाकाहरुमा परीक्षण गर्दा दैनिक रुपमा कोरोना सङ्क्रमण देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले जानकारी दिए । चैत महिना सुरु भएयता मात्रै यस प्रदेशमा भारतबाट फर्किएका ४३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।    
यो महिना कोरोना सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रमित सबै भारतबाट फर्किएका रहेका छन् । भारतबाट फर्किनेमा कोरोना देखिन थालेपछि सीमा क्षेत्रमा जोखिम बढेको छ ।
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकाबाट हाल दैनिक रुपमा  स्वदेश फर्किनेको क्रम पनि  बढेको हो । नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका नाकाहरुमा भारतबाट स्वदेश फर्किनेको सङ्ख्या पनि बढ्दै गएको छ । नयाँ वर्ष तथा बिशु पर्व मनाउन गाउँ फर्किनेको सङ्ख्या बढेकाले सङ्क्रमणदर पनि वृद्धि भएको हो । नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेन परीक्षणको व्यवस्था गरिएको छ ।
भारतमा सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको छ । भारतका विभिन्न कोरोना सङ्क्रमण देखिन थालेकाले त्यसको प्रभाव सुदूरपश्चिम प्रदेशमा पनि देखिन थालेको हो ।
जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्नाका साथै खोप अभियानलाई पनि निरन्तरता दिइएको छ ।  सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टीजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको  छ । सङ्क्रमितलाई सम्बन्धित पालिकाको समन्वयमा होम आइसोलेसनमा बस्न भन्ने गरिएको छ । प्रदेशभरि नै हाल ५५ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने क्रम जारी छ ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख ४४ हजार चार सय ५४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार नौ सय २७ जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ ।

 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ०४:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार