मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै 

सोमबार, चैत १३, २०७९

काठमाडौँ । प्रधानमन्त्रीले संसद्मा विश्वासको मत पाएको लामो समय भइसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । गठबन्धनमा ११ दल सम्मिलित भएकाले भागवण्डामा कुरा अड्कँदा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । मन्त्रिपरिषद् विस्तार आजसम्म गरिने भनिए पनि दलहरुबीच सहमति हुनसकेको छैन । यस्तैमा आज मङ्गलबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । सत्ता गठनबन्धनमा रहेका तीन शीर्ष दलबीच मङ्गलबार अपराह्न ४ बजे बैठक राख्ने सहमति भएको हो । सत्ता गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुनेछ । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत दल आबद्ध छन् । 
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटमा मङ्गलबार अपराह्न गठबन्धनको बैठक बोलाउने सहमति भएको हो । 

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

यसैबीच आज मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग आज परामर्श गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग परामर्श गरेका हुन् ।
छलफलमा मंगलबार चार बजे १० दलको बैठक बसाल्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १४:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार