प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन निर्देशन

आइतबार, चैत १२, २०७९

काठमाडौँ । आफूले सरुवा गरी पठाएका कर्मचारीलाई स्थानीय तहहरुले हाजिरी नगराएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई तत्काल हाजिरी गराउन निर्देशन दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन निर्देशन दिएको हो । मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फर्काउन थालेपछि सात दिनभित्र हाजिर गराउन मन्त्री अमनलाल मोदीले शुक्रबार मन्त्रिस्तरीय निर्णय गरी यस्तो निर्देशन दिएका हुन् ।
मन्त्रालयले खटाएका नयाँ प्रमुख प्रशासकीय अधिकृतबाट मात्र सम्बन्धित नगरपालिका÷गाउँपालिकाको खाता सञ्चालनको व्यवस्था मिलाउनका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयलाई समेत परिपत्र गरेको छ ।
मन्त्री मोदीको निर्णयअनुसार हाजिर नगराएका स्थानीय तहलाई मन्त्रालयले परिपत्र गरिसकेको छ ।
मन्त्रालयले सम्बन्धित स्थानीय तहलाई गरेको परिपत्रमा भनिएको छ, “स्थानीय सरकार ऐन, २०७४ को ८४ (४) बमोजिम यस मन्त्रालयबाट कामकाजमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बन्धित नगरपालिका÷गाउँपालिकाले प्रचलित कानूनबमोजिम हाजिर गराई कामकाजमा लगाउनुपर्ने देखिएको हुँदा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई पत्रको मितिले ७ (सात) दिनभित्र हाजिर गराई सोको जानकारी यस मन्त्रालयमा दिनु हुनका साथै तहाँ कार्यालयबाट अन्यत्र खटाइएका कर्मचारीलाई सोही अवधिभित्र खटाइएको निकायमा रमाना दिई पठाउनु हुन नेपाल सरकार (माननीय मन्त्रिस्तर) को मिति २०७९-१२-०९ को निर्णयानुसार अनुरोध छ ।”

 

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १९:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार