हिमाल आरोहणको सिजन सुरु

आरोहीको रोजाइमा सुर्मा सरोवर, अन्नपूर्ण, पाङ्ग्री गोलदुम्बा, मनास्लु, थोराङपिक हिमाल
शनिबार, चैत ११, २०७९

काठमाडौँ । यस वर्षको हिमाल आरोहणको सिजन सुरु भएको छ । प्रत्येक वर्षे वसन्तकालीन याममा सगरमाथासहितका हिमाल आरोहणका लागि स्वदेशी तथा विदेशी आरोहीलाई अनुमति दिने गरिन्छ । वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो सिजनमा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् । यो वर्षको वसन्तकालीन यामका लागि यही चैत ३ देखि आरोहण अनुमति दिन सुरु गरिएको थियो । वैशाखको तेस्रो सातादेखि सगरमाथा आरोहण सुरु हुन्छ । सगरमाथालगायत अन्य हिमाल आरोहणका लागि अहिले आरोहण अनुमति लिएर आरोही गन्तव्यतिर निस्किएका छन् ।
सगरमाथाको एकसहित आजसम्म अन्य विभिन्न हिमाल आरोहणका लागि १० आरोही समूहले अनुमति लिएका छन् । वसन्तकालीन याममा विभिन्न हिमालका लागि धमाधम आरोहण अनुमति जारी भइरहेको छ । सगरमाथाबाहेक अन्य हिमाल आरोहणका लागि हालसम्म ५३ जनाले अनुमति लिएका छन् ।
आरोहीहरूले सुर्मा सरोवर, अन्नपूर्ण, पाङ्ग्री गोलदुम्बा, मनास्लु, थोराङपिक हिमाल आरोहण अनुमति लिएका छन् । अनुमति लिनेमध्ये ३६ पुरुष र १७ महिला छन् ।
सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि शुक्रबारदेखि आरोहण अनुमति दिन सुरु गरिएको छ ।
पर्यटन विभागका अनुसार यो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि पहिलो १५ जनाको आरोही समूहले आरोहण अनुमति लिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सगरमाथा आरोहणमा जाने पहिलो आरोही समूहको टिमलिडरलाई आरोहणको अनुमति दिएका थिए । वसन्तकालीन यामका लागि सगरमाथा आरोहण गर्न शुक्रबार पहिलो आरोहण अनुमति जारी गरिएको हो ।
आरोहण अनुमति लिनेमध्ये १० पुरुष र पाँच महिला छन् । उनीहरू अष्ट्रेलिया, चीन, जर्मनी, हङ्गेरी, सिङ्गापुर, दक्षिण अफ्रिका, थाइल्याण्ड, अमेरिकाका नागरिक हुन् ।

 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ०५:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार