बागमती प्रदेशसभामा विश्वासको मत लिँदै मुख्यमन्त्री, एमाले सरकारबाट बाहिरिँदै 

शुक्रबार, चैत १०, २०७९
मयुर प्लाई

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशसभामा आज विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत माग्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।  बुधबारका लागि बोलाइएको बैठक कांग्रेसका सांसद उपस्थित नभएपछि आजका लागि सारिएको हो । बुधबार कांग्रेसका प्रदेश सांसदहरुले मुख्यमन्त्रीलाई विश्वासको मत दिने कि आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा छलफल गर्न काठमाडौँमा संसदीय दलको बैठक राखेका थिए । बैठकले मुख्यमन्त्री जम्मकट्टेललाई नै विश्वासको मत दिएर अघि बढ्ने निर्णय गरेको छ । 
कांग्रेसले विश्वासको मत दिने निर्णय गरेसँगै अलमलमा रहेका मुख्यमन्त्री जम्मकट्टेल ढुक्क देखिएका छन् । आफूले संसदबाट विश्वासको मत पाउनेमा कुनै शंका नरहेको मुख्यमन्त्री जम्मकट्टेल बताउँछन्। 
मुख्यमन्त्री जम्मकट्टेललाई केन्द्रको गठबन्धनमा रहेका ४ दलले विश्वासको मत दिने पक्का भएको छ । माओवादी, कांग्रेस, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिने छन् । ११० सदस्यीय बागमती प्रदेशसभामा माओवादी केन्द्रका २१, कांग्रेसका ३७, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् । यी सबै जोड्दा कूल ६८ हुन आउँछ । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न ५६ सांसदको समर्थन भए पुग्छ । 
सरकारबाट बाहिरिन लागेको एमाले, सरकार छाडिसकेको राप्रपा र नेपाल मजदुर किसान पार्टीले भने मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । एमाले आजै सरकारबाट बाहिरिने
बागमती प्रदेश सरकारमा रहेका एमालेका ४ मन्त्री आज सरकार छाड्ने तयारीमा छन् । आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वास मत लिएसँगै एमाले पनि सरकारबाट बाहिरिने तयारीमा रहेको हो । 
केन्द्रमा सत्ताबाहिर रहेको एमाले प्रदेश सरकारबाट पनि बाहिरिने तयारीमा रहेको एमालेका प्रदेशसभा सदस्यले जानकारी दिए । एमाले प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहने छ। 
एमाले बागमती संसदीय दलका नेता तथा प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलियाले आजको बैठकमा आफ्नो धारणा राखेर सरकारबाट बाहिरिने बताए ।
बागमती सरकारमा एमालेबाट थपलियासहित एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायातमन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री र केशवप्रसाद पोखरेल कृषी तथा पशुपन्छी विकासमन्त्री छन्।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १०:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार