पशुपतिनाथको ढोकैबाट दानपात्र चोरियो, छानबिन समितिले गर्‍यो ‘अपचलन भइरहेको’ शङ्का

शुक्रबार, चैत ३, २०७९

काठमाडौं । केही दिन अघि पशुपतिनाथ मन्दिरको ढोकैमा राखिएको एउटा दानपात्र हरायो । दानपत्र हराएको हल्लाखल्ला भएपछि पुनः यथास्थानमा फर्काइएको घटनाले त्यहाँ दानदातव्यको समेत ‘अपचलन भइरहेको हुनसक्ने’ सङ्केत गरेको चोरीको उक्त घटना छानबिन समितिका संयोजकले आशंका गरेका छन्।
 छानविन समितिले उक्त घटनाको छानबिन गरेर प्रतिवेदन बुझाइसकेको छ । कारबाही प्रक्रिया सुरु भइनसकेको तथा प्रतिवेदन सार्वजनिक पनि नभएकाले प्रतिवेदनबारे उनले विस्तृतमा खुलाउन चाहेनन् ।
पशुपतिनाथ मन्दिरको पश्चिमी द्वारमा राखिएको दानपात्र गत माघ १४ गते हराएको र केही घण्टापछि पुनः यथास्थानमै फेला परेको थियो ।
उक्त घटनाको छानबिन गरी सुझाव सहितको प्रतिवेदन पेस गर्न पशुपति क्षेत्र विकास कोषका सञ्चालक परिषद् सदस्य देवीप्रसाद बरालको संयोजकत्वमा कोषले एउटा सात सदस्यीय समिति बनाएको थियो ।
उक्त समितिले छानबिन सम्पन्न गरेर प्रतिवेदन बुझाइसकेको भए पनि त्यसको कार्यान्वयन कहिले हुन्छ वा दोषी रहेको शङ्का गरिएकामाथि थप छानबिन हुन्छ कि हुँदैन भन्नेबारे कोषले केही बताएको छैन ।
कोषको अध्यक्ष रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किरातीसहित कोषका सदस्यसचिव मिलन थापासँग प्रतिवेदनका सुझाव कार्यान्वयनबारे प्रश्न गर्न गरिएको दुई दिनसम्मको प्रयास सफल हुन सकेन ।
कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले भने ‘प्रतिवेदनबारे आफूलाई केही थाहा नभएको र त्यसबारे आफूले बोल्न पनि नमिल्ने’ बताए।

पशुपति क्षेत्र विकास कोषका अधिकारीहरूका अनुसार मन्दिरका चारवटै ढोका अगाडि तामाका घ्याम्पालाई दानपात्रका रूपमा राखिएका छन् ।
ती घ्याम्पाहरूमा माथि बिर्को लगाइएको छ र ती बिर्काहरूमा चाबी लगाउने गरिन्छ।
घ्याम्पाको सबैभन्दा माथिको भागमा खुत्रुकेमा पैसा खसाउने जस्तै प्वाल बनाइएका छन् । दैनिक भक्तजनहरूले ती प्वालबाट नेपाली र विदेशी मुद्रा, गरगहना तथा सुनचाँदीजस्ता बहुमूल्य धातुसमेत दानपात्रमा खसाउने गर्छन् ।
त्यसरी जम्मा भएका नगद तथा बहुमूल्य धातु रहेका चारवटै घ्याम्पालाई हरेक दिन दिउसो मध्याह्नतिर जिम्मेवार कर्मचारीको रोहबरमा खोलेर त्यसलाई कोषमा दाखिला गर्ने चलन रहेको छ ।
तर गत माघ १४ गते पश्चिमतर्फको ढोकानेर रहेको त्यस्तो एउटा घ्याम्पो हराएको विवरण कर्मचारीहरूले कोषका सदस्यसचिव मिलन थापालाई दिए ।
कर्मचारीहरूले दानपेटीका जम्मा गरेर नगद र बहुमूल्य वस्तु दाखिला गर्ने नियमित प्रक्रिया अघि बढाउने क्रममा एउटा घ्याम्पो हराएको थाहा भएको जानकारी सदस्यसचिवलाई गराएको अधिकारीहरू बताउँछन् ।
त्यसपछि पशुपति क्षेत्रको सुरक्षार्थ खटिएका प्रहरी अधिकारीहरूले घ्याम्पो चोरी भएको मुचुल्का समेत उठाएका थिए ।
तर त्यसको केही घण्टापछि यथास्थानमै घ्याम्पो फेला परेको थियो । उक्त घटनापछि कोषले त्यसको भोलिपल्ट नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीसमेत सदस्य रहेको एउटा छानबिन समिति बनायो ।
उक्त समितिले विभिन्न तथ्यहरू भेला पारी तयार पारेको प्रतिवेदन बुझाइसकेको त्यसका संयोजक बरालले बताए ।

छानबिन समितिले के पायो ?
संयोजक बरालले दिएको जानकारीअनुसार छानबिन समितिले उक्त घटना हुनुअघि त्यस क्षेत्रमा जोडिएको सीसीटीभी प्रणालीलाई काम नगर्ने बनाइएको पाएको छ ।
‘सीसीटीभीको तार काटेको पाइयो तर त्यो कहिले र कसले काटेको थियो भन्ने कसैले पनि जबाफ दिन सकेनन्’, उनले भने ।
उनका भनाइमा उक्त घटना मात्र त्यहाँ भएको पहिलो नहुनसक्ने सङ्केत पनि कतिपय कर्मचारीले गरेका छन् ।
उनले भने, ‘हामीले छानबिनका क्रममा सम्बन्धित व्यक्ति र कर्मचारीलाई लिखित रूपमै प्रश्नहरू सोधेका थियौँ । त्यसक्रममा पशुपतिनाथ मन्दिरमा पहिले यस्तै खाले घटना भएको थियो कि थिएन ? भन्ने प्रश्न पनि थियो ।’
‘त्यसमा कतिपयले पहिले पनि त्यस्तो घटना भएको सुनेको तर त्यसबारे आफूहरूलाई कुनै जानकारी नभएको भन्ने जबाफ लेखेका छन्’
सोही कुरालाई आधार मानेर प्रतिवेदनमा यस्तो घटना पहिलो पटक नभएको हुनसक्ने औँल्याइएको बरालले जानकारी दिए ।
त्यस्तै विशेषगरी दानपात्रको रेखदेखको जिम्मेवारीसमेत पाएको कोषको संस्कृति संरक्षण महाशाखा र कर्मचारी प्रशासन महाशाखाका प्रमुखसहित कर्मचारीले तोकिएको जिम्मेवारी पूरा नगरेको छानबिन समितिले पाएको बरालको भनाइ छ।
उनले भने, ‘त्यसैअनुसार सम्बन्धित कर्मचारीहरूमाथि थप छानबिन गरी कारबाही गर्न पनि हामीले प्रतिवेदनमा सिफारिस गरेका छौँ ।’
छानबिनका क्रममा कर्मचारीले दिएको जानकारी अनुसार दानपात्रमा हरेक दिन नगद मात्र पनि दुई लाख रुपैयाँभन्दा बढी जम्मा हुने गरेको पाइएको बरालले बताए ।
‘तर कुनै दिन धन पनि भएको र मन पनि भएको भक्तजन आउँदा एकैजनाले पनि धेरै रकम वा सुनचाँदी जस्ता बहुमूल्य वस्तु दान गर्नसक्छन्’ उनले भने ।
उनले प्रतिवेदनमा सुरक्षालाई थप सुदृढ पार्न र दानपेटीकाको रकम तथा बहुमूल्य वस्तुको सुरक्षा तथा व्यवस्थापनका लागि कार्यविधि बनाएर निश्चित व्यक्तिलाई निश्चित कामको जिम्मेवारी तोक्न पनि सुझाव दिइएको बताए । 
विसं २०६९ साल फागुनमा पनि पशुपति क्षेत्रमा राखिएको दानपात्रमा चोरी भएको थियो ।
त्यसबेला पशुपतिनाथ मन्दिर छेउमा रहेको बूढानीलकण्ठ मन्दिरसँगै राखिएको दानपत्रबाट नगद चोरी भएको थियो । तर त्यो बेलाको चोरी अहिलेको भन्दा फरक शैलीको भएको जानकारहरू बताउँछन् । त्यसबेला रातिको समयमा चोरले दानपात्र फुटाएर नगद चोरेको थियो ।
पशुपति क्षेत्र विकास कोषले त्यसबेला पनि छानबिन समिति बनाएर उक्त घटनाको छानबिन गरेको थियो ।
घटनाको दुई सातापछि प्रहरीले पशुपति क्षेत्रभित्रै बस्ने एकजना व्यक्तिलाई उक्त चोरीको आरोपमा पक्राउ पनि गरेको थियो ।

दानपत्र चोरीबारे अब के हुन्छ ?
छानबिन समितिका संयोजक रहेका बराल अब थप प्रक्रिया कसरी अघि बढाउने भन्नेकुरा कोषका सदस्यसचिवको हातमा रहेको बताउँछन् । ‘उहाँले प्रतिवेदनलाई कसरी कार्यान्वयन गर्नेबारे निर्णय गर्नुहोला वा त्यसका लागि बैठक राख्नुहोला’, उनले भने ।

सुरक्षा चुनौती बढ्नसक्ने खतरा
पशुपति क्षेत्र विकास कोषका एकजना पूर्व सदस्यसचिव एवम् संस्कृतिविद् गोविन्द टण्डन पशुपति क्षेत्रमा हुने यस्ता घटनाले मन्दिर क्षेत्र सुरक्षित नरहेको देखाउने बताउँछन् । उनी भन्छन्, ‘पश्चिम ढोकातर्फको दानपात्र भनेको सबैभन्दा धेरै दानदातव्य प्राप्त हुने दानपात्र हो । त्यो दानपात्र राखिएकोसामू नै प्रहरी बिट नै छ । त्यस्तो स्थानमा कसरी चोरी सम्भव भयो भन्ने गम्भीर प्रश्न हो।’
‘यस्ता घटनाले पशुपतिनाथमा चोरी तथा लुटपाट हुने मात्र होइन भविष्यमा अझ ठूला भवितव्य नहोलान् भन्न सकिन्न। त्यसको जिम्मेवारी कसले लिने ?’ , टण्डनका भनाइमा उनी सदस्यसचिव रहेका बखतदेखि नै पशुपतिनाथ क्षेत्रको समग्र सुरक्षालाई लिएर विभिन्न समिति बन्नुका साथै तिनले प्रतिवेदनहरू पनि दिएका थिए । त्यसलाई मनन् गर्ने र कार्यान्वयन गर्ने काम नहुँदा पशुपतिनाथमा ‘सुरक्षाको खतरा’ बढ्नसक्ने उनी बताउँछन् । त्यसलाई न्यूनीकरणका लागि कोष र सरकारले समयमै आवश्यक प्रबन्ध गर्नुपर्ने उनको सुझाव छ ।–बीबीसी 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १२:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार