भोलि उपराष्ट्रपतिको निर्वाचन,  साँझ ६ बजेसम्म निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी 

बिहीबार, चैत २, २०७९
मयुर प्लाई

काठमाडौँ । भोलि शुक्रबार उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ । उपराष्ट्रपतिमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाकी प्रमिला कुमारी र रामसहायप्रसाद यादव तथा जनमत पार्टीकी ममता झा उम्मेदवार छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दुई  मतदान केन्द्रको व्यवस्था गरिएको छ । 
बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको छ । “निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ”, सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले भनिन्, “मतपत्र पनि केन्द्रमा आइसकेको छ ।” सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । सङ्घीय संसद्का सदस्यले संसद् भवनको मूल गेटबाट प्रवेश गरेर मतदान गर्ने छन् भने प्रदेशसभाका सदस्यले बगैँचा तर्फको हरियो गेटबाट प्रवेश गरेर मतदान गर्ने व्यवस्था मिलाइएको छ । 

Vice President1678969261.jpg
निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका दुई प्रकारको मतपत्रको व्यवस्था गरेको छ । सङ्घीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतपत्रमा उम्मेदवारको तस्बिर र नाम समावेश गरिएको छ । 
उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेका छन् । सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ रहेको छ । 
मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने तयारी गरिएको छ । साँझ ६ बजेसम्म निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी आयोगको छ । सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसदले मात्र निर्वाचनमा मतदान गर्न पाउँछन् ।  उपराष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ । 

मौन अवधिमा बैठक नगर्न आयोगको ध्यानाकर्षण
निर्वाचन आयोगले भोलि हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि प्रचारप्रसार निषेधका अवधिमा राजनीतिक दलको बैठकबाट उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न÷नगराउन ध्यानाकर्षण गराएको छ ।
उम्मेदवारका सम्बन्धमा कतिपय राजनीतिक दलका बैठक र त्यससँग सम्बन्धित सार्वजनिक अभिव्यक्ति आएका सन्दर्भमा आज आयोगले प्रेस विज्ञप्ति जारी गरी सो ध्यानाकर्षण गराएको हो । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनकोे ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु भइरहेको विज्ञप्ति मार्फत स्मरण गराएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा यस अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका बैठक, छलफल, अन्तक्र्रिया, सभा गर्न नपाइने उल्लेख छ । 
यसैगरी  सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न नपाइने विज्ञप्तिमा उल्लेख गरिएको छ । 
आयोगले मतदानमा सहभागी भई स्वविवेक प्रयोग गरी मतदान गर्न निर्वाचक मण्डलका सदस्यहरुलाई आग्रह गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १७:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार