प्रधानमन्त्रीले आगामी सोमबार विश्वासको मत लिने

बुधबार, चैत १, २०७९
मयुर प्लाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगमी चैत ६ गते विश्वासको मत लिने भएका छन् । उपराष्ट्रपतिको चुनाव चैत ३ गते सकिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने भएका हुन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले उपराष्ट्रपतिको चुनावपछि विश्वासको मत लिने तयारी भएको बताए । गजुरेलका अनुसार संसदमा दर्ता भएका सत्यनिरुपण मेलमिलाप आयोगसम्बन्धी विधेयक पनि अगाडि बढाउने गरी छलफल चलिरहेको छ । पुस १० गते समर्थन दिएको एमालेले फागुन १५ गते फिर्ता लिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड ६४ दिनमै अल्पमतमा परेका थिए । फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति चुनाव भएकाले यसबीचमा उनले विश्वासको मत लिन पाएका थिएनन् । नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेका प्रधानमन्त्रीलाई अब नेपाली कांग्रेसले समर्थन दिएपछि सरकार सुरक्षित हुनेछ । प्रचण्डलाई कांग्रेससँगै माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि समर्थन गर्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सरकार छोड्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।पुस १० गते ३ स्वतन्त्रसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए । एमाले र राप्रपाले साथ छाडेपछि प्रचण्ड अल्पमतमा छन् । कांग्रेससहित १० दलीय गठबन्धन बनेकाले उनको सरकारले  विश्वासको मत पाउनेछ ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १५:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार