महिला उपराष्ट्रपति हुनुपर्ने रिट खारेज

दरपिठविरुद्ध निवेदन लैजाने कानुन व्यवसायीको तयारी
मंगलबार, फागुन ३०, २०७९
मयुर प्लाई

काठमाडौं । सर्वोच्च अदालतमा उपराष्ट्रपति महिलालाई नै गराउनु पर्ने मागसहित पेस गरिएको रिटमा दरपिठ भएको छ । अधिवक्ता राधिका खतिवडाले सोमबार अदालतमा रिट पेस गरेकी हुन् ।
उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले आइतबार उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम गरेको थियो ।
राष्ट्रपतिमा पुरुष निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने मागसहित सो रिटको अध्ययनपछि रजिस्ट्रारको आदेशबाट मङ्गलवार दरपिठ भएको हो ।
अधिवक्ता खतिवडाले दरपिठ आदेशविरुद्ध निवेदन लिएर पुनः इजलामा जाने बताइन् ।
“निर्वाचित भएछ भने पनि भोलि खारेज भएर पुनः निर्वाचनमा जानुपर्ने हुनसक्छ, त्यसैले म दरपिठविरुद्ध निवेदन लिएर जानेछु,” अधिवक्ता खतिवडाले भनिन्, “यो एउटा सामान्य विषय नभएर समग्र महिलाको प्रतिनिधित्वको अधिकारसँग जोडिएको विषय हो ।” 
गत शनिबार १० दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादवलाई उमेदवार बनाएपछि राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिंगको व्यक्ति हुनुपर्ने बहस उत्कर्षमा पुगेको थियो । त्यही कारण जसपाले विकल्प उमेदवारका रूपमा प्रमिला यादवको पनि उमेदवारी दर्ता गरेको थियो । तर, आइतबार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले संविधानले फरक लिंग वा समुदाय भनेर छुट दिएको भन्दै यादवको उमेदवारी कायम गरेपछि सोमबार अधिवक्ता खतिवडाले रिट दायर गरेकी हुन् । 
यादवको उमेदवारीविरुद्ध एमाले र जनमत पार्टीका उमेदवारले निर्वाचन आयोगमा उजुरी दिएका थिए । तर निर्वाचन आयोगले यादवको उम्मेदवारी कायमै राख्ने निर्णय गरेको छ । उपराष्ट्रपतिको निर्वाचन आगमी चैत ३ गते हुँदै छ । निर्वाचनका लागि मंगलबार राति देखि प्रचार प्रसारको काम पनि बन्द हुनेछ । 

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १५:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार