किन बढ्दै छ दिनप्रतिदिन कोरोना भाइरसको संक्रमण ?

आज थपिए ८६ सय जना कोरोना संक्रमित, ५८ जनाको मृत्यु
बुधबार, वैशाख २२, २०७८

काठमाडौं । भारतीय सीमाबाट हुने लुकिछिपी आवातजावत, हेलचेक्रइँय गर्ने आनीबानी जस्ता कारणले नेपालीमा कोरोना संक्रमणको दर बढ्दो छ । एक सातायता दिनुहुँ ५ हजार भन्दा बढीको संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदै आएको छ । स्वास्थ्य संस्थामा गएर सबैले स्वाब परीक्षण गर्ने हो भने अझ संक्रमणको दर भयावह देखिने निश्चत छ । संक्रमित भइन्छ कि भन्ने डरले पनि धेरै मानिसहरु कोरोना परीक्षणका लागि सहजै स्वास्थ्य संस्थामा जाने आँट गरेका छैनन् । तर पनि जति परीक्षण भएका छन् यो संख्या हेर्दा संक्रमणको दर उच्च मान्नुपर्छ ।  मुलुकमा पछिल्लो २४ घण्टामा थप ८,६०० जना भन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौं उपत्यकामा फेला परेका संक्रमितको संख्या सर्वाधिक छ ।

कोरोना भाइरसलाई हल्का रुपमा लिँदै हिँड्ने बानीले पनि काठमाडौंमा संक्रमणको दर अत्याधिक देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चौविस घण्टाको अवधिमा थप ५८ जनाको कोभिड–१९ सम्बन्धी कारणले मृत्यु भएको छ । यो अहिलेसम्म पुष्टि भएको सर्वाधिक दैनिक वृद्धि र मृत्युको संख्या हो । अहिले पुष्टि भएका संक्रमितहरू पीसीआर विधिसहित एन्टिजन विधिबाट परीक्षण गर्दा पहिचान भएका हुन् । सरकारले मंगलबार ७,६६० जनामा संक्रमण र ५५ जनाको मृत्यु र सोमवार ७,४४८ जनामा संक्रमण र ३७ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । आजको वृद्धिसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६६,३०० नाघेको छ । तीमध्ये ४,४६४ जना संस्थागत आइसोलेशनमा र बाँकी ६१,५०० जनाजति घरममै आइसोलेशनमा बसेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

सङ्क्रमण पुष्टि हुने दर उच्च
मन्त्रालयको ब्रीफिङमा बोल्दै डा. गौतमले सोमबार यता नेपालमा ५३,५४५ वटा परीक्षण गर्दा २३,७१३ मा सङ्क्रमण पुष्टि भएको बताए । यसले सङ्क्रमण पुष्टि हुने दर उच्च भएको देखाउँछ । उनका अनुसार सो अवधिमा ५,७८९ जना सङ्क्रमणमुक्त भएका छन् । तथ्याङ्कअनुसार बुधबार अपराह्नसम्म देशभिर ६६,३५२ जना पुष्टि भएका सक्रिय संक्रमित छन् । विगत २४ घण्टा पीसीआर विधिबाट २०,७५६ नमुनाको र एन्टिजन विधिबाट ६१६ जनाको परीक्षण गरिएकोमा क्रमशः ८,६०५ र ५४ गरी कुल ८,६५९ जनामा कोभिड–१९ पुष्टि भएको हो । 

युवामा उच्च सङ्क्रमण दर
मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ््कमा अहिले पुष्टि भएका सङ्क्रमितहरू विभिन्न उमेर समूहका देखिन्छन् । त्यसमध्ये २० वर्षदेखि ४९ वर्षसम्मका मानिसको संख्या ५,७०७ अर्थात् झन्डै ६६ प्रतिशत छ । यस्तै ९ वर्ष मुनिका २१३ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने १० देखि १९ वर्ष मुनिका उमेर समूहका ५२४ जना कोरोना संक्रमित भेटिएका छन् ।

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?
सबैभन्दा धेरै काठमाडौंमा २ हजार ८४९, रुपन्देहीमा ६८०, बाँकेमा ५९१, ललितपुरमा ५१८ र भक्तपुरमा ४५८ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै कास्कीमा २८४, झापामा २६९, चितवनमा २१३, मोरङमा २०६, सुर्खेतमा १५४, पर्सामा १५२, धनुषामा १४७ र कैलालीमा १४५ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै कैलालीमा १४५, कञ्चनपुरमा १४०, पाल्पा ११५, नुवाकोटमा ११२, सुनसरीमा १०७, मकवानपुरमा १०५, काभ्रेपलाञ्चोकमा ९६ र तनहुँमा ६३ जनामा कोरोना संक्रमित थपिएका छन् । यस्तै महोत्तरी र सिन्धुलीमा ५५–५५ जना, धादिङमा ५४, बर्दियामा ४७, बारामा ४६, नवलपरासी पश्चिम र बैतडीमा ४४र ४४ जना, डोटीमा ४०, नवलपरासी पूर्वमा ३९, अर्घाखाँचीमा ३८, दैलेख ३४, सिरहामा ३३, म्यादीमा ३०, रौतहट र गोरखामा २८र२८ जना कोरोना संक्रमित भएका छन् । यस्तै अछाममा २३, कपिलवस्तुमा २४, सर्लाहीमा २१, धनकुटामा २०, रसुवा र गुल्मीमा १९र१९ जना, पर्वतमा १८, सप्तरीमा १६, सिन्धुपाल्चोकमा १५, रामेछापमा १३, दोलखा १२, इलाम र सल्न यानमा ११–११ जना तथा म्याग्दी र डडेल्धुरामा १०–१० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै संखुवासभामा ९, बागलुङमा ८, उदयपुर र सोलुखुम्बुमा ७–७ जना, ओखलढुंगा, खोटाङ र जुम्लामा ६र६ जना, भोजपुरमा ५, प्युठान र सल्यानमा ४–४ जना, रोल्पा र बझाङमा ३–३ जना, ताप्लेजुङ, तेह्रथुम, मुस्ताङ, रूकुम पुर्व र कालिकोटमा २–२ जना तथा पाँचथर, जाजरकोट र रूकुम पश्चिममा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १९:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार