स्वास्थ्यसेवाबाट अवकाश लिएका सैनिकलाई तयारी रहन निर्देशन

कोभिडको दोस्रो लहरको संक्रमण बढ्दो 
बुधबार, वैशाख २२, २०७८

काठमाडौं । नेपाली सेनाले आफ्नो स्वास्थ्य सेवाबाट अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई सेवामा फर्कने गरी तयारी अवस्थामा रहन निर्देशन दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले विसं २०७२  पछि सेनाको स्वास्थ्य सेवाबाट अवकाशप्राप्त  स्वास्थ्यकर्मीलाई सेवामा पुनः आउन सक्ने  गरी तयारी हालतमा रहन आग्रह गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यो अवधिमा सेनाको स्वास्थ्य सेवाबाट ३२० को हाराहारी अवकाश भएका छन् । सेनामा उपरथी दर्जाका नेतृत्वमा रहेको स्वास्थ्य निर्देशनालय छ । हाल सेनाको स्वास्थ्य सेवा विभागमा दुई हजारभन्दा  बढी  जनशक्ति कार्यरत छन् । सेनाको हाल बाहिनी मातहतका १६  फिल्ड एम्बुलेन्स अस्पताल,  इटहरी, पोखरा र नेपालगञ्जमा क्षेत्रिय अस्पताल तथा धनगढी र बर्दिबासमा सेटलाइट अस्पताल सञ्चालनमा छन् । काठमाडौँको छाउनीस्थित वीरेन्द्र अस्पताल र महाङ्कालमा त्रिचन्द्र मिलिटरी अस्पतालले समेत दुर्घटना तथा अन्य आपत्कालीन  अवस्थामा सर्वसाधारणलाई मानवीयरुपमा  स्वास्थ्योपचार सेवा प्रदान गर्दै आएको छ । सेनाले मुलुकमा बढिरहेको कोभिड–१९ संक्रमण रोकथामका लागि विभिन्न योजनाका साथ आवश्यक तयारीमा जुटिरहेको जनाएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि  निर्वाह गर्नुपर्ने थप भूमिकाको पूर्वानुमान एवं कार्यान्वयनका लागि  सेनाले विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारी गरिरहेको पनि उल्लेख गरेको छ ।–रासस
 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १८:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार