उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी, सत्ता गठबन्धनबाटै तीन जना उम्मेदवार 

शनिबार, फागुन २७, २०७९

काठमाडौँ ।  उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरेको थियो ।
सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार तोकिएको समयभित्र चार जनाको उम्मेदवारी परेको हो । नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गरेकी छन् । 
यस्तै १० दलीय सत्तारुढ गठबन्धनकातर्फबाट जनता समाजवादी पार्टी नेपालका दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसपाका तर्फबाट रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी परेको छ । 
निर्वाचन आयोगले राष्ट्रपति पुरुष निर्वाचित भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने जनाएपछि दुई जनाको उम्मेदवारी परेको हो ।

202303111452-8f729932-71ce-42b5-ac59-4923c31cc37d_medium1678534619.jpg
यस्तै जनमत पार्टीको तर्फबाट ममता झाको उम्मेदवारी परेको छ । आइतबारसम्म गठबन्धनले आधिकारिक उम्मेदवार तय गर्ने बताएको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्ता गठबन्धनको तर्फबाट आइतबारसम्म साझा उम्मेदवार तय हुने जानकारी दिए । 
सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट २ जना र जनमत पार्टीबाट १ गरी तीन जनाको उम्मेदवारी परेको हो । जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको छ । प्रमिला यादवको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहेका छन् । समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिष सुमन रहेका छन् ।

202303111503-92e06a15-567c-4137-97ce-1b5cfdd0002a_medium1678534620.jpg
त्यस्तै रामसहायप्रसाद यादवको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, एकीकृत समाजवादीका किसान श्रेष्ठ, माओवादी केन्द्रका शक्ति बस्नेत र नेपाली कांग्रेसका रमेशजंग रायमाझी छन् । समर्थकमा जसपाकी रेखा यादव, अम्बिका काफ्ले, एकीकृत समाजवादीका प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहनेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका सत्तारुढ गठबन्धनमै रहेको दल जनमत पार्टीकी नेता ममता झाले पनि उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा जनमत पार्टीका अब्दुल खान, अनिता देवी, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, अविराम शर्मा, रुपाकुमारी यादव रहेका छन् । समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, बसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी रहेका छन् ।

RS_KTM-_RATL7117(1)1678534622.jpg
नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण बिष्ट, रघुवीर महासेठ छन् भने समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल रहेका छन् ।
आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । राष्ट्रपतिमा भने सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । 

RS_KTM-RATL6864(1)1678534625.jpg

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १७:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार