जसपाबाट उपराष्ट्रपतिमा रामसहायले दर्ता गराए उम्मेदवारी

शनिबार, फागुन २७, २०७९

काठमाडौँ । आजबाट दश दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टीको संसदीय दलका नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले शनिबार उम्मेदवारी दिएका हुन् ।  साझा उम्मेदवार चयन गर्न भनेर आज बिहान बालुवाटारमा आम जनता पार्टीका अध्यक्ष प्रभु साहसमेत १० दलका शीर्ष नेताको बैठक बसेको थियो । तर बैठकमा एउटै उम्मेदवार चयन गर्ने विषयमा सहमति हुन नसकेपछि जसपा र जनमत पार्टीले आआफ्ना उम्मेदवारलाई उपराष्ट्रपतिमा उठाएका हुन् । जनमत पार्टीबाट केन्द्रीय सदस्य ममता झाले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिएकी छन् । जसपाबाट महिलाले पनि उम्मेदवारी दिने बताइएको छ। अहिले तीनै जनाले उम्मेदवार दिने र भोलि पुनः छलफल गरेर एउटाको मात्र कायम गर्ने गठबन्धनका नेताहरूको भनाइ छ ।  
उपराष्ट्रपतिमा उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। आज बिहान ९ बजेदेखि खुला दर्ताको समय दिउँसो २ बजेसम्मलाई तोकिएको छ। 
दर्ता भएका उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म रहने गरी निर्वाचन कार्यक्रम छ। 
यस्तै मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे, उम्मेदवारको नामावली प्रकाशन गर्ने सोही दिन १२ बजेदेखि १ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने २८ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सोही दिन ४ बजेदेखि ५ बजेसम्म गर्ने गरी कार्यक्रम तय भएको छ।
राष्ट्रपतिमा भने नौदलीय गठबन्धनबाट रामचन्द्र पौडेले चयन भइसकेका छन् । उनले सोमबार शपथ खाई पद सम्हाल्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल भने भोलि सकिँदै छ । 

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १३:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार