उपराष्ट्रपतिमा तीनजनाको उम्मेदवारी दर्ता गराउँदै सत्तारुढ गठबन्धन, भोलिसम्म साझा उम्मेदवार तय हुने 

शनिबार, फागुन २७, २०७९

काठमाडौँ । सत्तारुढ गठबन्धनका तर्फबाट उपराष्ट्रपतिका लागि शनिबार तीनजनाको उम्मेदवारी दर्ता हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनका तर्फबाट तत्काल तीन जनाको उम्मेदवारी दर्ता गर्ने निर्णय भएको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिए । जनता समाजवादी पार्टीका तर्फबाट महिला र पुरुष दुवैको उम्मेदवारी दर्ता गर्ने निर्णय भएको छ । यसैगरी जनमत पार्टीका तर्फबाट ममता झालाई महिला उम्मेदवार बनाउने निर्णय भएको छ ।
गठबन्धन दलको आजको बैठकमा उपराष्ट्रपति पदको उम्मेदवारी सम्बन्धमा छलफल भएको थियो । 
राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने प्रावधान संविधानमा नै उल्लेख भएकाले झालाई महिला उम्मेदवार बनाउने विषयमा सत्तारुढ दलकाबीच सहमति भएको राउतले जानकारी दिए । “आज तीन जनाको उम्मेदवारी दर्ता गर्ने र आइतबारसम्म छलफल गरेर एउटै उम्मेदवार कायम गर्ने सहमति भएको छ”, उनले भने । 
आयोगले उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने भनेकाले कुनै जोखिम नलिइ आज तीन जनाको उम्मेदवारी दर्ता गर्ने निर्णय भएको अध्यक्ष राउतले जानकारी दिएका छन् ।  निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने समयसीमा तय गरेको छ । गठबन्धनले जसपा नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर आयोगले पुरुष राष्ट्रपति भएपछि महिला नै उपराष्ट्रपति हुनुपर्ने जनाएपछि आज पुनःछलफल गरी अन्तिम निष्कर्ष दिने सो पार्टीले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलगायत शीर्ष नेताको सहभागिता थियो । 
 

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १२:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार