गठबन्धनले साझा उम्मेदवार चयन गर्न सकेन 

जसपा र जनमत दुवैले उपराष्ट्रपतिमा उम्मेदवारी दिने

शनिबार, फागुन २७, २०७९

काठमाडौँ । नौदलीय गठबन्धन उपराष्ट्रपतिको साझा उम्मेदवार चयन गर्न असफल भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बसेको नौदलीय गठबन्धनको बैठकले उपराष्ट्रपतिमा एकै उम्मेदवार चयन गर्न नसकेको हो । उपराष्ट्रपति पदमा जसपा र जनमत पार्टी दुवैले दाबी गरेपछि साझा उम्मेदवार चयन हुन सकेन ।  बैठकमा सहभागी नेताका अनुसार आज जसपा र जनमत दुवै पार्टीबाट उम्मेदवारी दर्ता गराउने र भोलि सहमतिमा एकजनाको उम्मेदवारी फिर्ता लिने समझादरी बनेको छ । यसअघि नै जसपाले संसदीय दलका नेता रामसहायप्रसाद यादव र जनमतले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवारका रुपमा अघि सारिसकेको छ।
आजको नौ दलीय बैठकमा नौ दलका शीर्ष नेताहरूसँगै आम जनता पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साह पनि सहभागी भएका थिए । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदै छ। बिहान ९ बजे देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ । 

जसपाले बोलायो कार्यकारिणी समितिको बैठक
जनता समाजवादी पार्टी नेपाल, (जसपा) ले आज कार्यकारिणी समितिको बैठक बोलाएको छ ।  बैठक दिउँसो बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए । बैठकमा उपराष्ट्रपति पदको उम्मेदवारीलगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरिने छ । जसपाले प्रतिनिधिसभा सदस्य एवम् कार्यकारिणी सदस्य रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउने बिहीबार नै निर्णय गरिसकेको छ ।  त्यसैगरी सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले केन्द्रीय सदस्य ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने शुक्रबार निर्णय गरेको छ ।

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १२:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार