सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले चीन र नेपालबीच सगरमाथाको उचाइका बारेमा ‘ऐतिहासिक साझेदारी’ भएको भन्दै मंगलवार सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने जनाएको छ । परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षसँग समन्वय गरेपछि उचाइ सार्वजनिक गर्ने मिति तय भएको बताइएको छ । विभागका महानिर्देशक प्रकाश जोशीले सोमवार झन्डै दुई साताअघि मन्त्रिपरिषद्ले अनुमोदन गरेको सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको जानकारी दिए । उनले भने, ‘यो शुद्ध र वैज्ञानिक काम गरेका हौँ। हामीले उचाइ निर्धारण गरेका हौँ ।’ उचाइ घोषणापछि अध्ययन विधि जस्ता अन्य प्राविधिक विवरण सार्वजनिक गर्दै जोशीले जानकारी दिए । विभागले उचाइ घोषणा कार्यक्रममा सगरमाथाको मापनमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गरिने पनि जनाएको छ । यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले उचाइबारे नेपाल र चीनबीच ऐतिहासिक सहमति भएको बीबीसीलाई बताएकी थिइन् । नापी विभाग के भन्छ ? मन्त्रिपरिषद्को मंसिर १० गतेको बैठकले नेपाल र चीनका सर्भे अधिकारीले संयुक्त रूपमा प्रशोधन गरी अन्तिम रूप दिएको भनिएको सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय गरेको थियो । उचाइ सार्वजनिक गर्ने प्रक्रिया अघि बढाउने जिम्मेवारी मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयलाई दिएको थियो । गएको वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण गर्दा बेइजिङ र काठमाडौंले नेपालमा सगरमाथा र तिब्बतमा झोमुलङ्मा भनिने विश्वको सर्वाेच्च शिखरको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्ने र त्यसमा मिलेर वैज्ञानिक अनुसन्धानहरू अघि बढाउने सहमति कायम गरेका थिए । उक्त सहमति पछि नेपाल एक्लैले अघि बढाएर सगरमाथाको उचाइ मापन अभियानमा उत्तरी छिमेकी बेइजिङ पनि मिसिन पुगेको थियो । कोरोनाभाइरस महामारीका कारण सगरमाथाको आरोहण नेपालतर्फबाट बन्द रहँदा चीनले उत्तरी मोहडाबाट उचाइ मापनमा संलग्न प्राविधिक सहितको टोली सगरमाथाको चुचुरोमा पठाएको थियो । दुवै देशले सर्वेक्षण सम्बन्धी कामहरू सम्पन्न गरी तथ्यांक प्रशोधन गरेपछि प्राप्त अन्तिम अंकलाई नेपालको मन्त्रिपरिषद्ले अनुमोदन गरेको र त्यसलाई दुवै देशले संयुक्त रूपमा सार्वजनिक गर्ने अधिकारीहरूले बताउने गरेका छन् । नयाँ उचाइ सार्वजनिक गर्ने मिति संयोजन गर्ने जिम्मा परराष्ट्र मन्त्रालयले पाएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सगरमाथाको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्न चीनसँग दोहोरो सञ्चार भइरहेको बताएकी थिइन् । गोपनियता कायम राख्ने अधिकार मंसिर १० गतेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ मापनसँग सम्बन्धित रहेका कर्मचारीको योगदानको उचित कदर गर्ने र सर्वेक्षकहरूले संकलन गरेका अभिलेखलाई सुरक्षित राख्ने निर्णय गरेको थियो । त्यसबाहेक मापनसँग सम्बन्धित ‘कुनै गोप्य राख्नुपर्ने’ विषयमा गोपनियता कायम गर्ने व्यहोरा मन्त्रिपरिषद्को निर्णयमा उल्लेख भएको बताइन्छ । मन्त्रिपरिषद्ले उचाइलाई अनुमोदन गरेपछि भूमिव्यवस्था मन्त्री अर्यालले यसै महिनाभित्र चीन र नेपालले संयुक्त रूपमा उचाइ सार्वजनिक गर्ने बताएकी थिइन् । उनले सगरमाथाको उचाइ निर्धारण गरिनु राष्ट्रिय गौरवको विषय भएको उल्लेख गर्दै भनिन्, ‘विगतमा विभिन्न देशहरूले सगरमाथाको उचाइ नाप्दा अङ्कमा एकरूपता नआएर भिन्नता आएका छन्। र पहिला भारतका तर्फबाट नापिएको अङ्कले नै आधिकारिता पाइरहेको अवस्था छ ।’ बाटो बनाउँदै मन्त्री अर्यालको भनाइ थियो, ‘अहिले चीनले आफ्नो तर्फबाट र हामीले हाम्रोतर्फबाट सगरमाथाको उचाइ नाप्दा संयोग के प¥यो भने चीन र नेपालको हिउँसहित उचाइ एउटै आयो । यो एउटा संयोग मिलेको छ ।’ ‘अरू मुलुकहरूले धेरै पटक हाम्रो शान, हाम्रो गौरव सगरमाथाको उचाई नाप्ने काम गरे नेपालमा नाप्ने सामथ्र्य विकास भएको थिएन । तर अहिले हामीले जुन खालको मापन र्गयौँ त्यसले विश्व जगतमा हाम्रो नापीको क्षमताको बढेको कुरा प्रष्ट भएको छ र यो ऐतिहासिक हो’, उनले भनिन् । नेपालको नापि विभागले एउटा अन्तर्राष्ट्रिय कार्यशालाको आयोजना गर्दै एकल रूपमा सन् २०१७ बाट सगरमाथाको उचाइ नाप्ने प्रक्रिया अघि बढाएको थियो । नेपालको तर्फबाट पहिलो पटक अघि बढाइएको उक्त अभियानलाई राष्ट्रिय गौरवसँग जोडिएको थियो र विश्वलाई सगरमाथाको उचाइबारे सूचना दिनु आफ्नो उद्देश्य भएको नापी विभागले बताएको थियो । विश्वका कतिपय भूगर्भविद्हरूले सन् २०१५ मा गोर्खाको बारपाकलाई केन्द्रविन्दु बनाउँदै नेपालमा गएको विनाशकारी भूकम्पका कारण सगरमाथको उचाइमा फेरबदल भएको हुनसक्ने आशंका गरेका बेला उक्त अभियान थालिएको थियो । केही विज्ञहरूले भूकम्पका कारण सगरमाथा भास्सिएको हुनसक्ने टिप्पणी गरेका थिए । सगरमाथाको अहिलेको उचाइ भारतको सर्वे विभागले सन् १९५४ मा घोषणा गरेको हो । सगरमाथाको उचाइ मापनको कार्य सबैभन्दा अघि सन् १८४७ मा अघि बढाउने तत्कालीन भारतीय सर्वेयर जनरल कर्णेल जर्ज एभरेष्टको नाममा विश्वको सर्वोच्च हिमशिखरलाई अंग्रेजीमा माउन्ट एभरेष्ट नामाकरण गरिएको हो । विगतमा कैयौँ पटक सगरमाथाको उचाइ मापन गरिएपनि हालसम्म नेपाल र अन्तराष्ट्रिय स्तरबाट सर्वे अफ इण्डियाले मापन गरेको ८ हजार ८ सय ४८ मिटर उचाइलाई आधिकारीक मान्दै आएका छन् । नेपाल र चीनको सीमाना छुट्याउने विश्वको अग्लो हिमालको वास्तविक उचाइलाई लिएर काठमाडौं र बेइजिङबीच लामो समयदेखि मतभिन्नता रहँदै आएको थियो । चीनले आफ्नो नापी निकाय नेशनल एडमिनिस्ट्रेशन अफ सर्भेइङ्, म्यापिङ एण्ड जीयो इन्फरमेशन (एनएएसजी) ले सन् २००५ मा गरेको उचाइलाई आधार झुमालाङ्माको उचाइ समुद्र सतहबाट ८ हजार ८ सय ४४ दशमलब ४४ मिटर रहेको बताउँदै आएको थियो ।
चिनियाँ निकायले सगरमाथाको चट्टान सहित उक्त उचाइ रहेको र माथि चुचुरोमा तीन दशमलब ५ मिटर हिउँ रहेको बताउने गरेको थियो । नेपालको विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर उचाइ मापन सम्बन्धी काम गरेको थियो । तिब्बती मोहडाबाट मे महिनामा आरोहण गरेका चिनियाँ सर्वेक्षकहरूले झण्डै अढाइ घण्टा चुचुरोमा बिताएका र भूउपग्रहण प्रणाली र रेडार जस्ता उपकरण जडान गरी तथ्यांक संकलन गरेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका थिए ।–बीबीसी